आइप्याड पढाउने विद्यालयको आलोचना

चीन ९ साउन । उत्तर पूर्वी चीनको एउटा विद्यालयले आफ्नो पाठ्यक्रममा आइप्याडको पढाइ अनिवार्य बनाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । चाइना इकोनोमिक डेलीका अनुसार सान्सी प्रान्तको डानफेङ हाइस्कुलले हालै एउटा सूचना जारी गर्दै अध्यापनको आवश्यकता पूरा गर्न विद्यार्थीहरू स्वयंले आफ्नो आइप्याड लिएर आउनुपर्ने बताएको थियो । उसले आगामी सेप्टेम्बर महिनामा नयाँ सत्र सुरुहुँदा यो व्यवस्था लागू गर्ने उसको भनाइ छ । उक्त विद्यालयका अधिकारीले उक्त अखबारलाई आइप्याडको प्रयोगले कक्षाकोठाको क्षमतामा सुधार हुने र विद्यालयले सुरक्षा उपायका रूपमा इन्टरनेट ‘फायरवाल’ हरू राख्ने भएकाले अभिभावकले आफ्ना सन्तानले अरू प्रयोजनका लागि आइप्याडको प्रयोग गर्लान भनेर चिन्ता लिइरहनुपर्ने बताएका छन् ।

तर, पछि अभिभावकहरूले विद्यालयको योजनाले अनावश्यक रूपमा ‘आर्थिक दायित्व थप्ने’ भन्दै आलोचना गरेपछि विद्यालयका प्रधानाध्यापकले आइप्याड ल्याउनुपर्ने व्यवस्था अब अनिवार्य नगरिने जनाएका थिए । ती प्रधानाध्यापक याओ हुसानले आइप्याड नभएका विद्यार्थी पनि विद्यालयमा भर्ना हुन सक्ने भन्दै उनले कक्षाकोठामा प्रविधि मैत्री वातावरणलाई प्रोत्साहन गर्न आफूले विद्यार्थीहरूलाई आइप्याड लिएर आउन सुझाव दिने बताएका छन् । यो घटनाले चीनको वेबो भनिने सामाजिक सञ्जालमा जीवन्त छलफलहरू निम्त्याएको थियो । एक प्रयोगकर्ताले लेखेका छन्, ‘जुन अभिभावकले आइप्याड किन्ने हैसियत राख्दैनन् अब उनीहरूले आफ्नो एउटा मिर्गाैला नै बेच्नुपर्ने भयो ।’

कतिपयले विद्युतीय सामाग्रीको दीर्घकालीन प्रयोगले बालबालिकाको स्वास्थ्यमा असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘मलाई ती बालबालिकाको दृष्टिमा ह्रास आउला की भन्ने चिन्ता लाग्यो,’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘कतै उनीहरूको नजिकका वस्तु देख्न नसक्ने भएर चश्मा लगाउनुपर्ने अवस्था आउने हो की ।’ कतिपयले चाँहि शिक्षा प्रणालीलाई समय सापेक्ष ढंगबाट आधुनिक बनाउन खोजेको भन्दै विद्यालयको प्रशंसा पनि गरिरहेका छन् । ‘मध्यम खालका परिवारले त्यो सहजै पूरा गर्न सक्छन्, एकदमै नयाँ मोडलको आइप्याड नै खरिद गर्नुपर्ने होइन होला ।’

प्रतिक्रिया