ट्रम्पको अधिकार सीमित पार्ने कसरत

अमेरिका ९ साउन । कंग्रेसमा दुवै दलका नेताहरूले रूसमाथिको प्रतिबन्ध हटाउन सक्ने राष्ट्रपति डोनल्ड ट्रम्पको अधिकार सीमित पार्ने एउटा विधेयकमा सहमति गरेका छन् । हाउस अफ रिप्रेजेन्टेटिभमा मंगलबार अर्को एउटा विधेयकमाथि मतदान हुँदै छ, जुन विधेयकले राष्ट्रपतीय चुनावमा रूसले गरेको भनिएको हस्तक्षेपका निम्ति सजायस्वरूप मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने बाटो खुला गर्नेछ । यसअघि ट्रम्पले रूस मामिलामा केही हदमसम्म आफूलाई कूटनीतिक स्वतन्त्रता दिन कंग्रेससमक्ष आग्रह गरेका थिए । तर संवाददाताहरू भन्छन्, २ दलबीचको सम्झौताले ट्रम्पको जस्तो धारणा रहे पनि मस्कोबारे एउटा ठोस अडानमा कंग्रेस दृढ रहेको संकेत गर्दछ ।

हुन त राष्ट्रपतिले सो विधेयकलाई रोक्न विशेषाधिकार प्रयोग गर्न सक्छन् तर, उनले त्यसो गरेमा उनी क्रेम्लिनको सहयोगी रहेको आशंकालाई थप बल पुग्नेछ ।अर्कोतर्फ राष्ट्रपतिले यदि त्यसमा हस्ताक्षर गरे भने उनकै प्रशासनले विरोध गरिरहेको कानुन आउनेछ । सिनेटको विदेश मामिला समितिका वरिष्ठ डेमोक्र्याट सदस्य कार्डिनले ‘संघन वार्ताहरू’ पछि विधेयकमा सहमति जुटेको बताए ।  उनले भने, ‘लगभग एकढिक्का रेहको कंग्रेस अमेरिकी जनता र हाम्रा साझेदारहरूका तर्फबाट राष्ट्रपति पुटिनलाई एउटा स्पष्ट सन्देश पठाउन तयार छ र त्यो सन्देश पुर्याउनका निम्ति हामीलाई राष्ट्रपति ट्रम्पको सहयोग चाहिएको छ ।’

डेमोक्र्याट सिनेटर चक सूनरले हाउस अफ रेप्रेजेन्टेटिभ र सिनेटले ‘वृहत् २ दलीय सहमतिका आधारमा सो विधेयकलाई समयमै’ अगाडि बढाउने बताए । उनले प्रतिबन्धसम्बन्धी एउटा ‘सशक्त’ विधेयक आवश्यक रहेको उल्लेख गरे । मस्कोले अमेरिकी राष्ट्रपतीय चुनावमा कुनै प्रकारको आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।विधेयकले इरान र उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने अनुमति पनि दिनेछ ।

प्रतिक्रिया