२८ लाई मृत्युदण्डको आदेश दिइएको पुष्टि

कायरो ९ साउन । सन् २०१५ मा इजिप्टका १ जना सरकारी पूर्व महान्यायाधिवक्ताको हत्याकाण्डमा संलग्न २८ अपराधीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ । कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको तथ्य इजिप्टेली सरकारी टेलिभिजनले आइतबार प्रसारण गरेकोे छ । यही फौजदारी मुद्दाको सिलसिलामा, अन्य १५ अभियुक्तलाई आजीवन कारावास (इजिप्टको दण्ड विधान अनुसार जनही २५ वर्षको कैद), ८ लाई जनही १५ वर्षको कारावास र १५ लाई जनही १० वर्षको कारावासको सजाय तोकिएको छ ।  आज सजाय सुनाइएका सबै अपराधी, अभियुक्तहरूलाई एउटा आतंककारी संगठनसँग आवद्ध रही अवैध हातहतियार तथा विस्फोटक सामाग्री साथमा राखी हिंसा, हत्या र आतंक फैलाउँदै देशद्रोह गरेको अभियोग लगाइएको थियो ।

यही सरकारवादी मुद्दाको न्याय सम्पादनको क्रममा यसै फौजदारी अदालतले ३१ जना अपराधीलाई मृत्युदण्डको सजाय दिने गरी गरेको फैसला अनुमोदनका लागि १ महिनाअघि इस्लाम धर्माधिकारीकहाँ पेस गरेको थियो । इजिप्टमा विद्यमान इस्लामिक कानुन बमोजिम जटिल अपराधवापत अदालतले दण्ड सजाय तोकेपछि मुलुकका सर्वोच्च इस्लाम धर्माधिकारीको सहमति लिनु अनिवार्य हुन्छ । प्रस्तुत मुद्दामा अदालतले ३१ जना अपराधीहरूलाई मृत्युदण्डको सजाय दिएकोमा इस्लाम धर्माधिकारीबाट २८ को मात्र अनुमोदन भएको जनाइएको छ । सन् २०१५ को जुन २९ का दिन इजिप्टका पूर्वमहान्याधिवक्ता हिसाम बराकत कायरोस्थित आफ्नो घरबाट बाहिर निस्कनै लागेका बखत आतंककारीहरूको एक समूहले कार बम बिस्फोटन गराई उनको विभत्स हत्या गरेका थिए ।

त्यसबखत, यदाकदा नाम सुनिने गरेको र आफ्नो समूहलाई गिजा पपुलर रेसिस्टेन्स भनी परिचय दिन रुचाउने आतंककारीहरूको एउटा समूहले सो हत्याको दाबी गरेको थियो । हत्याकाण्डको अनुसन्धानको क्रममा इजिप्टेली प्रहरीले ६७ जना जति अपराधीहरूलाई पक्री तिनीहरू उपर ज्यानमारा मुद्दा चलाएको थियो । यी मध्ये १ जनाको कालगतिले मृत्यु भइसकेको छ । यस महान्याधिवक्ता हत्याकाण्ड अघि, अन्तर्राष्ट्रिय आतंककारी समूह इस्लामिक स्टेटससँग आवद्ध, इजिप्टको सिनाइमा अखडा जमाउँदै अन्सार वेइत अल–मक्दिस समूहले अदालतका फलाना फलाना न्यायाधीशहरूउपर आक्रमण गर्नु भनी आफ्ना समर्थकहरूका नाममा आदेश चलाउने गरेको थियो ।  हत्याकाण्डमा परी मारिनु भएका हिसाम बराकत, इजिप्टका कट्टरपन्थी पूर्वइस्लामिक राष्ट्रपति मोहम्मद मोर्सी अपदस्थ भएलगत्तै सन् २०१३ मा इजिप्टको महान्याधिवक्ता पदमा नियुक्त भएका थिए ।

प्रतिक्रिया