फिलिपिन्समा सैनिक कानुन अनुमोदित

मनिला ९ साउन । फिलिपिन्समा त्यहाँको संसद्ले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप बढाउन यहाँका राष्ट्रपतिलाई अनुमति दिएको छ । उक्त क्षेत्रमा यसै वर्षको सुरुदेखि सैनिक शासन लाग्दै आएको छ । उक्त शासनको अवधि थप बढाउनका लागि राष्ट्रपतिले संसद्सँग अधिकार मागेका थिए । फिलिपिन्सको दुवै संसद्को शनिबार बसेको संयुक्त बैठकले सो अनुमति दिएको छ । उक्त क्षेत्रमा आगामी डिसेम्बरको ३१ तरिखसम्म सैनिक शासन लागू गर्ने अधिकार संसद्ले राष्ट्रपतिलाई दिएको हो ।

फिलिपिन्समा लगभग संसारकै सबैभन्दा लामो हिंसाका रूपमा यहाँका कम्युनिस्ट विद्रोहीहरूले सशस्त्र विद्रोह गर्दै आएका छन् । उनीहरूलाई शान्ति वार्ताका लागि सरकारले बारम्बार आग्रह गर्ने र समयसमयमा वार्तासमेत गरेको भए पनि वार्ता सफल हुन सकेको छैन । सो सैनिक शासनको व्यापक विरोध गर्दै आएका कम्युनिस्ट विद्रोहीहरूले विरोध स्वरूप गतहप्ता मात्र राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि हमला गरेका थिए । सो हमलामा परी उनको सुरक्षामा खटेका अंगरक्षक घाइते भएका थिए ।

प्रतिक्रिया