कतार संकटको समाधान निस्किएन

इस्तानबुल ९ साउन । कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनि गरिएका प्रयासहरू सफल हुन सकिरहेका छैनन् । कतारमाथि उसका छिमेकी ४ वटा खाडी देशले गत ५ जुनदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दीसमेत गरेका छन् । ती देशहरूले नाकाबन्दी अन्त्य गर्नका लागि भन्दै २३ जुनमा १३ बुँदे सर्त राखेर कतारलाई पत्र पठाएका थिए । पत्रमा कतारमाथि विभिन्न सर्त राखिएको छ । ती मध्येका केही सर्तमा अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि राखिएको छ । तर, ती सर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन । कतारको यो जवाफ उनीहरूलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ ।

त्यसै क्रममा कतिपय देशले कतारमाथि लचिलो हुन सकिने भनी दिएका अभिव्यक्तिहरू पनि सार्थक हुन सकिरहेका छैनन् ।यसैबीच सो समस्या समाधानको पहलस्वरूप भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले गल्फ राष्ट्रहरूको भ्रमण गर्ने भएका छन् । उनले कतार र साउदी अरेबियाको भ्रमण गर्नेे बताइएको छ । टर्किस् विदेश मन्त्रालयले प्रकासन गरेको विज्ञप्तिमा उनले आइतबारदेखि सो भ्रमण गर्न लागेको जानकारी दिइएको छ । पछिल्लो समयमा कतार गम्भीर कूटनीतिक संकटमा परेको छ । त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उनको कार्यालयले जनाएको छ । तर, त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन ।  आइतबारदेखि २५ जुलाईसम्म हुन लागेको उनको भ्रमण कतारमा जारी कूटनीतिक संकट समाधानमा प्रमुख मध्यस्तकर्ताका रूपमा हुनेछ । तर, यसअघि भने टर्कीले मध्यस्थताको केही कुरा उठाएको छैन ।

कतारमाथि उसका छिमेकी गल्फ देशले कूटनीतिक सम्बन्धविच्छेद गरी नाकाबन्दी लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन ।कतारसँग उसका छिमेकी मुलुकहरूको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गतहप्ता साउदी अरब पुगेका थिए ।‘फ्रान्सले जतिसक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका जनता विशेष गरेर विद्यार्थी बढी मर्कामा परेका छन् यसले अरूलाई पनि दुःख दिएको छ’ ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए ।  विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिएको भए पनि अहिलेसम्म यस विषयमा कुनै पहल भएको छैन ।
रियादको भ्रमणपछि उनी कुवेत र संयुक्त अरब इमिरेट्स पनि पुगेका थिए । उनले सो भ्रमणमा छलफलबाटै संकटको समाधान खोज्न सुझाव दिएका थिए । उनीसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लंघन गरेका प्रमाणहरू रहेको दाबी गर्दै सम्बन्ध पुनःस्थापनाका लागि कतार सच्चिएर आउनुपर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा कतारका छिमेकी खाडी मुलुकहरूले भने सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को खाडी मुलुकको सहकार्यका लागि गरिएको ‘सप्लिमेन्ट्री एग्रिमेन्ट’ सम्झौता कार्यान्वयनमा बेवस्ता गरेको बताएका छन् ।
तर, यी सबै आरोपहरूको कतारले भने खन्डन गर्दै आएको छ । उसले आफूमाथि लगाइएका यी सबै आरोपहरू निराधार रहेको स्पष्टरूपमा भन्दै आएको छ ।

प्रतिक्रिया