अधिकांश अमेरिकी जनताको रायः राष्ट्रपतिका छोराको काम गलत

वासिंगटन ९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रूसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।  अमेरिकी गुप्तचर निकायले गतवर्षको राष्ट्रपतिको चुनावी अभियानमा रूसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको आरोप लगाउँदै आएको छ । त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोराले १ जना रूसी वकिलसँग बारम्बार कुरा गरेको सार्वजनिक भएको थियो । तर, राष्ट्रपति ट्रम्पले भने उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भए पनि गतहप्ता मात्र सो विषय सार्वजनिक भएको थियो । उक्त कुराको खुलासा पनि गतहप्ता नै भएको थियो । राष्ट्रपतिका जेठा छोराले आफूले गरेको कुराकानी, इमेल र भेटसम्बन्धी समाचार स्वीकार गरेका छन् । उनले यस विषयमा आफू स्पष्ट रहेको र राष्ट्रपतिमा आफ्नो बुबालाई विजयी गराउनका लागि आफूले कुराकानी गरेको हो भनेका छन् ।

तर, त्यस समयमा आफूले उक्त कुराकानीको बारेमा भने आफ्नो बुबालाई जानकारी नदिएको पनि उनले जनाएका छन् । यसै विषयमा थप बुझ्न भन्दै अमेरिकी सिनेट कमिटीले उनलाई र सो निर्वाचनको समयमा ट्रम्पका प्रमुख निर्वाचन अभियन्तालाई कमिटीमा बोलाएको छ । उनको सो कुराकानीका बारेमा ‘पोलिटीको कन्सल्ट’ नामक एक संस्थाले सो गरेको सर्वेक्षणमा संलग्न मध्येका अधिकांशले उक्त कार्य गलत भएको प्रतिक्रिया दिएका हुन् । उक्त सर्वेक्षणमा संलग्न अमेरिकी नागरिकमध्येका ५२ प्रतिशतले सो कार्य गलत भएको बताएका छन् । त्यसैगरी सर्वेक्षणमा संलग्न मध्येका २३ प्रतिशतले मात्र उक्त कार्यलाई सही भनेका छन् ।

त्यस्तै उक्त सर्वेक्षणमा संलग्न मध्येका २५ प्रतिशतले आफुहरूले सो विषयमा कुनै टिप्पणी नगर्ने भनी प्रतिक्रिया दिएका थिए । यस विषयमा रिपब्लिकन पार्टीका सदस्यहरूलाई बढी असर गरेको देखिएको छ । रिपब्लिकन पार्टीका सदस्यहरूमध्ये ४४ प्रतिशतले रूसी वकिलसँग गरेको सो कुराकानी कुनै ठूलो मुद्दा नभएको भनी सहज प्रतिक्रिया दिएका बताइएको छ । उनीहरूले यसलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् । सो समाचारपछि फेरि अमेरिकामा अर्काे काण्ड पनि सार्वजनिक भएको छ । यसै महिनामा जर्मनीको ह्याम्वर्गमा भएको जी–२० को सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लै र गोप्य तवरबाट भेट गरेको भनी अर्काे काण्ड पनि हालै सार्वजनिक भएको थियो ।ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उनीसँग मात्र छोटोवार्ता भएको बताएको छ ।

तर, अमेरिकी पत्रिकाले सो भेटमा अरू कोही नभई १ जना दोभाषे मात्र राखिएको र १ घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभाषे पनि रूसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ । ह्यामवर्गको जी–२० बैठकका समयमा राष्ट्रप्रमुखको निजी रात्रिभोजका बेला दोस्रो बैठक भएको समाचार बाहिर आएपछि निकै विवाद ल्याएको छ । सो भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रूसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका पत्रिकाले जनाएका थिए । राष्ट्रपति ट्रम्पले पनि यो वार्ता मिडियामा आएजस्तो गम्भीर प्रकृतिको नभएर खाना खानेबेलामा गरिएको सामान्य कुराकानी हो भनेका छन् ।

प्रतिक्रिया