पूर्वी जेरुसलेममा हिंसा

mariye copy

जेरुसलेम ८ साउन । मुसलमानले हरम अल–शरीफ र यहुदीले टेम्पल माउन्ट भन्ने गरेको पवित्रस्थलमा तनाव बढ्दै जाँदा इजरायली प्रहरीसँगको भिडन्तमा दर्जनौं प्यालेस्टिनी घाइते भएका छन् ।पुरानो सहरको पर्खालभित्र प्रदर्शनकारीले ढुंगा र अरू वस्तुहरू फ्याँकेपछि उनीहरूमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरिएको छ । सो पवित्रस्थलमा १ जना प्यालेस्टिनी युवाको पनि गोली लागेर मृत्यु भएको बताइएको छ तर, त्यसको पृष्ठभूमि स्पस्ट छैन ।

शुक्रबार ३ जना अरब बन्दुकधारीले २ जना इजरायली प्रहरीलाई मारेपछि त्यहाँ तनाव बढेको हो । सो स्थलको प्रवेशद्वारमा इजरायेलले मेटल डिटेक्टर राखेको विरोध गर्न प्यालेस्टिनीहरूले शुक्रबार ‘आक्रोशको दिन’ आह्वान गरेका थिए ।प्यास्लेस्टिनी र अन्य मुसलमान नेताले सो कदमको कडा विरोध गरेका छन् भने इजरायलले प्रहरीलाई मार्ने हतियार सो पवित्रस्थलभित्र लुकाएर लगिएको हुनाले सुरक्षाको दृष्टिकोणले त्यस्तो कदम आवश्यक भएको बताएको छ । पूर्वी जेरुसलेमको सो क्षेत्र सन् १९६७ मा भएको मध्यपूर्व युद्धको समयदेखि इजरेलको अधिनमा छ भने प्यालेस्टिनीले त्यसलाई आफ्नो भूभाग ठान्दछन् ।

इजरेलले बारम्बार यथास्थिति कायम राख्ने प्रतिवद्धता जनाएको छ । विगत ५० वर्षदेखि कायम गरिएका नियमहरू भंग गरिएमा प्यालेस्टिनीहरूले आपत्ति जनाएका छन् । सो परिसर वरिपरि शुक्रबार हजारौँ प्रहरी खटाइएका थिए भने ५० वर्ष मुनिका पुरुषलाई त्यहाँ जान दिइएको थिएन । पवित्रस्थलमा हिंसा भड्किन नदिन कहिले काँहीं त्यहाँ त्यसो गर्ने गरिन्छ ।रमल्लाह र जेरुसेलमबीचको कलान्दिया जाँचबुझ केन्द्रमा र बेथ्लेहेमको उत्तरी प्रवेशद्वारमा पनि हिंसा भड्किएको छ । जेरुसेलमभरीमा ६० जना प्यालेस्टिनी घाईते भएको र ३१ जनालाई अस्पताल लगिएको रेडक्रसले बताएको छ । गत हप्ता त्यहाँ मेटल डिटेक्टर राखिएपछि प्रत्येक रात झडप भइरहेका छन् । मेटल डिटेक्टर नहटाएसम्म अल–अक्सा मस्जिदको सो परिसरमा नछिर्ने भन्दै प्यालेस्टिनीले परिसर बाहिर नै प्रार्थना गर्न थालेका थिए ।

प्रतिक्रिया