ट्रम्प–पुटिन गोप्य वार्ता भएको स्वीकार

_putin trump
वासिंगटन ५साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको जी–२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचार ह्वाइटहाउसले स्वीकार गरेको छ ।यो महिनाको सुरुतिर जर्मनीको ह्याम्बर्गमा भएको जी–२० बैठकका क्रममा उनीहरूबीच पहिला घोषितरूपमा नै भेटवार्ता भएको मात्र समाचार आएको थियो ।

तर पछि भएको दोस्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको थियो । उक्त भेटवार्ताको समाचार मंगलबारका अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन् । उनीहरूबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घन्टौंपछि एकजना रुसी दोभाषे मात्रको उपस्थितिमा राष्ट्रपतिद्वयको वार्ता भएको ती समाचारमा जनाइएको छ । तर, २ जनाबीच के–कस्ता विषयमा छलफल भएको थियो भन्नेबारे भने केही बताइएको छैन । यस वार्ताको औपचारिक रेकर्ड पनि नराखिएको पाइएको छ ।
अमेरिकी छापामा यो समाचार आएपछि यस विषयमा अमेरिकामा व्यापक विवाद थपिएको छ । रुस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर आएका पछिल्ला समाचारपछिको यो अर्काे खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताइदिएको छ । सुरुमा होइन भनिएको सो भेटघाटको समाचार आएपछि मंगलबार ह्वाइटहाउसले स्वीकार्न बाध्य भएको बताइएको छ । ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उनीबीच मात्र तर, छोटो वार्ता भएको बताएको छ ।तर, अमेरिकी पत्रिकाले सो भेटमा अरू कोही नभई दोभासे मात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् ।

दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ । अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्नका लागि सघाएको आरोप लगाउँदै आएको छ । तर, राष्ट्रपति ट्रम्पले उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भए पनि गत हप्ता मात्र सो विषय पनि सार्वजनिक भएको थियो ।त्यस समयमा राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा पनि गतहप्ता नै भएको थियो । उनले सो समाचारको स्वीकार गरेका छन् ।

ह्यामबर्गको जी–२० बैठकका समयमा राष्ट्रप्रमुखको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको थियो । भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभासे रहेका थिए ।

प्रतिक्रिया