फिलिपिन्सका राष्ट्रपतिको सवारीमा आक्रमण

udkwpn53a1awxb2h1teg

मनिला ५ साउन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको समाचार छ । सो हमलामा परी उनका ४ अंगरक्षक गम्भीर रूपमा घाइते भएका छन् । उनलाई नै लक्ष्य गरी सो हमला भएको हो । तर, सो सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी रहेकाले ठूलो दुर्घटना टरेको समाचारमा जनाइएको छ । राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो । गोली लागेर उनको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएका बताइएको छ ।

फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले सो हमला गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापु नजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो संख्याका सवारी खटाइएको थियो । तर, हमलाकारीले भने राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको १ सवारीसाधनमा हमला गरेका थिए । गोली लागेर ४ जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

फिलिपिन्समा विगत लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको कम्युनिस्ट विद्रोही समूहले हालै मात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए । सोही विरोधस्वरूप यो हमला गरिएको अनुमान फिलिपिन्सको सैनिकले गरेको छ । १ जना सैनिक जर्नेलले उक्त हमला कम्युनिस्ट विद्रोहीले नै गरेको र सैनिक शासनको विरोधस्वरूप यो हमला गरिएको बताएका छन् ।

प्रतिक्रिया