विहार समस्यामा सहज हुने संकेत

काठमाडौं ५ साउन । विहारका मुख्यमन्त्री नितिशकुमारसँग उपमुख्यमन्त्री तेजस्वी यादवको भेटपछि बिहारको समस्या समाधान हुने संकेत देखिएको छ । रेल्वेका होटलहरू भाडामा दिँदा अनियमितता भएको आशंकामा सिबिआईले लालु–राबडीदेवी आवासमा छापा मारेपछि बिहारमा सत्तारूढ महागठबन्धनभित्र गतिरोध उत्पन्न भएको थियो । यसअघि, तेजस्वी र नीतीशबीचको द्वन्द्व चरमोत्कर्षमा पुग्न लागेको र दुवै आ–आफ्नो अडानमा रहेका कारण मामिला गम्भीर बनेको अनुमान लगाइएको थियो । नीतीशसँग भेट्न जानेमा उपमुख्यमन्त्री तेजस्वी यादवसहित स्वास्थ्यमन्त्री तेजप्रताप यादव र कांग्रेसका प्रदेश अध्यक्ष एवं सहशिक्षामन्त्री डा.अशोक चौधरीसमेत थिए ।

मुख्य सचिवालयमा भएको मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री नीतिशकुमार आफ्नो कार्यकक्षमा पस्नेबित्तिकै उनीहरू भेटघाटका लागि त्यहाँ पुगेका थिए ।समाचारअनुसार तेजस्वी र नीतिशबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । उनीहरूबीच भएको कुराकानीको विस्तृत विवरण सार्वजनिक भएको छैन । उक्त भेटमा तेजस्वी यादवले मुख्यमन्त्रीसमक्ष आफ्नो सफाइ प्रस्तुत गरेको समाचारमा अनुमान गरिएको छ । यो भेटवार्तालाई जटिल मोडमा पुगेको बिहारको राजनीतिका सन्दर्भमा निकै अर्थपूर्ण मानिएको छ । लालु–राबडी आवासमा ७ जुलाईमा सिबिआईले छापा मारेपछि मुख्यमन्त्री नीतिशकुमारले भ्रष्टाचारको आरोप लागेका तेजस्वीले जनतासामु सफाइ पेस गर्नुपर्ने बताएका थिए । तर, तेजस्वीले त्यसो नगरेपछि नीतिशकुमार उनीदेखि रुष्ट थिए ।

यसले गर्दा नीतिशकुमार र बिहारका प्रभावशाली नेता लालु यादवबीचको सम्बन्ध केही तीक्त भएको थियो । तीक्तताकै बीच नीतिशले तेजस्वी यादवले राजीनामा दिनुपर्ने तर्क गरेपछि नीतिश र लालुबीच बोलचालसमेत बन्द भएको थियो । यस पृष्ठभूमिमा नीतिश र तेजस्वीबीचको भेटले परिस्थितिलाई केही सहज बनाउने अनुमान गरिएको छ । बिहारमा लालु नेतृत्वको राजद र नीतिश नेतृत्वको जदयुबीचको सम्बन्ध बिग्रिँदै गएपछि त्यसको असर राष्ट्रिय राजनीतिमा पर्न थालेको थियो र महागठबन्धन अप्ठ्यारोमा पर्ने संकेत देखिएको थियो ।यसबाट भारतको प्रमुख विपक्षी दल कांग्रेस निकै चिन्तित बनेको थियो । त्यसैले लालु–नीतिश गठबन्धन जोगाएर महागठबन्धनलाई जीवित राख्न बिहार मामिलामा कांग्रेसले मध्यस्थताको प्रयास गरिरहेको थियो । मंगलबारको भेट कांग्रेसको यही भूमिका र प्रयासको परिणाम रहेको विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया