क्याथोलिक विद्यालयका बालकमाथि यौन दुव्र्यवहार

जर्मन ५ साउन । जर्मनीमा सार्वजनिक गरिएको एउटा प्रतिवेदनअनुसार एउटा विश्वप्रसिद्ध रोमन क्याथोलिक संगीत विद्यालयमा सन् १९४५ देखि सन् १९९४ सम्ममा ५ सयभन्दा बढी बालकमाथि शारीरिक वा यौन दुव्र्यवहार गरिएको थियो । रेगेन्सबेर्गर डम्सपाट्सेन विद्यालयका प्रतिनिधिले हालसम्म सो प्रतिवेदनबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । मंगलबार आफ्ना निष्कर्ष प्रस्तुत गर्दै अनुसन्धानकर्ता वकिल उलरिख भेबरले ६ दशकको समयमा शारीरिक दुव्र्यवहारका ५ सय घटना र यौन दुव्र्यवहारका ६७ घटना भएको थाहा पाएको बताएका छन् ।

प्रतिवेदनका अनुसार सन् १९४५ र १९९० को दशकका बीच सो क्याथोलिक चर्चका ४९ अधिकारी त्यस्तो काममा संलग्न भएका थिए । त्यस्तो दुव्र्यवहार रेगेन्सबेर्गर डम्सपाट्सेन विद्यालयको उच्च माध्यमिक र प्राथमिक दुवै तहमा भएको आरोप लगाइएको छ । सन् २०१६ मा गरिएको अनुसन्धानले त्यहाँ दुई सय ३१ बालबालिकामाथि दुव्र्यवहार गरिएको निष्कर्ष निकालेको थियो । पीडितहरूले सो विद्यालय नर्क जस्तो, जेल जस्तो, र यातनागृह जस्तो भनेका छन् ।उनीहरूले सो विद्यालयमा बिताएको आफ्नो समयलाई डर, हिंसा र निराशाले भरिपूर्ण जीवनकै सबभन्दा खराब समय भनेका छन् ।

सन् १९६४ देखि १९९४ सम्म विद्यालय प्रमुख रहेका ग्योर्क राटिसंगरलाई सो समस्यालाई बेवास्ता गरेको र हस्तक्षेप नगरेकोमा दोषी पाइन सक्ने भेबरले बताएका छन् । भूतपूर्व पोप बेनेडिक्ट १६ का ९३ वर्षीय दाजु राटिसंगरले त्यस्तो दुव्र्यवहारबारे आफूलाई केही थाहा नभएको र आफू त्यो विद्यालयमा रहुन्जेल त्यो विषय कहिल्यै नउठेको बताएका छन् । सो चर्चले योभन्दा अघि पीडितहरूलाई ५ देखि २० हजार पाउन्डसम्म क्षतिपूर्ति दिने प्रस्ताव गरेको थियो । सन् २०१० मा पहिलोपटक सो १ हजार वर्ष पुरानो विद्यालयमाथि यौन दुव्र्यवहारको आरोप लागेको थियो । क्याथोलिक चर्चलाई विगत केही वर्षमा थुप्रै त्यस्ता आरोपले स्तब्ध बनाएका छन् ।
आयरल्याण्डमा दुव्र्यवहार भएको सन् १९९० को दशकमा खुलासा भएको थियो र एक दर्जनभन्दा बढी देशमा त्यस्ता दुव्र्यवहारका घटना भएको यो शताब्दीको सुरुवातमा पत्ता लागेको थियो । संयुक्त राष्ट्रसंघले भ्याटिकनमाथि धर्मगुरुहरूलाई हजारौं बालबालिकामाथि दुव्र्यवहार गर्न दिने किसिमका नीतिहरू नियोजित रूपमा अवलम्बन गरेको आरोप लगाएको छ । चर्चमा हुने यौन दुव्र्यवहारमाथि कदम चाल्नुपर्ने आह्वान गरेका वर्तमान पोप फ्रान्सिसले पीडितहरूमा आशा जगाएजस्तो देखिएको छ ।

प्रतिक्रिया