वीरगञ्जमा १ सय १ प्रतिशत राजस्व असुली

वीरगञ्ज ५ साउन । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७३÷७४ मा १ सय १ प्रतिशत राजस्व असुली गरेको छ । गत आवमा १ खर्ब ७ अर्ब ११ करोड ३१ लाख ६३ हजार राजस्व संकलनको लक्ष्य राखेकामा १ खर्ब ८ अर्ब १० करोड ७७ लाख ८७ हजार राजस्व उठाउन सफल भएको छ । कार्यालयले मुख्य रूपमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्कतर्फ बढी राजस्व उठाएको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए । डिजेल र पेट्रोलमा कार्यालयले १० अर्ब राजस्व संकलन गरेको छ । सिमेन्टको कच्चापदार्थ क्लिंकरमा ३ अर्ब ३८ करोड र एलपी ग्यासमा २ अर्ब ९ करोड संकलन भएको छ ।

कार्यालयलाई करिब ४० प्रतिशत राजस्व भारतीय गाडीको निकासीबाट आउने गरेको छ । गत आवमा १ लाख १४ हजार थान मोटरसाइकल, ८ हजार थान कार, १७ हजार थान बस र ट्रक र एक हजार ६ सय ३३ थान ठूला ट्रक नेपाल भित्रिएका थिए । भन्सारले आव ०७१÷७२ मा ९१ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा ९८ अर्ब संकलन गरेको थियो । आव ०७२÷७३ मा ७१ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएकामा ५५ अर्ब मात्र संकलन भएको थियो ।

प्रतिक्रिया