वैज्ञानिकहरू भन्छन्,समुद्री सतह अझ बढ्न सक्छ

क्यानबेरा ४ साउन । जलवायु परिवर्तनको असरबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ वृद्धि हुने अनुमान गरेका छन् । आगामी सय वर्षमा समुद्री सतहमा वृद्धि हुने र यो सबै मानिसका कारण पृथ्वीमा आएको तापमानका कारण हुने अनुमान उनीहरूको छ । जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विभिन्न देशका वैज्ञानिकहरूको अस्ट्रेलियामा जारी रहेको यससम्बन्धी सम्मेलनमा उनीहरूको सो धारणा आएको हो ।उनीहरूले मानवीय स्वभाव, कार्यशैली र व्यावहारका कारण विश्वमा जलवायु परिवर्तनको मात्रामा वृद्धि हुँदै गएको र आगामी कम्तीमा पनि सय वर्षमा यो मात्रा खतरनाक रूपमा बढ्ने बताएका हुन् ।

अन्तरसरकारी वैज्ञानिक सम्मेलनमा सहभागी एकजना वैज्ञानिक डा. भ्यालेरी मासुन देलमेटोले बढ्दो मानवीय चापका साथै मानवीय व्यावहारले यो क्षेत्रमा ठूलो असर गर्ने बताएका हुन् । उनले पछिल्ला दशकमा जलवायु परिवर्तनको असर देखिएको र यसले प्रत्यक्षरूपमा नै समुद्री सतहमा वृद्धि जारी रहेको पनि बताए ।विश्वका कतिपय समुद्रमा समुद्री सतहमा जमेको बरफका ढिकाहरू पग्लिने क्रम सुरु भइसकेको र कतिपय अवस्थामा त्यो पग्लिँदै गएकोले सोही बरफको ढिक्काका कारण समुद्री सतहमा पनि वृद्धि भइरहेको देखिएको जनाएका छन् । ग्रिनल्यान्डमा बरफका ढिकाहरू निरन्तर रूपमा पग्लिँदै गएका, ग्लासिएर तालहरू पग्लिएका र त्यसको मात्रामा पनि वृद्धि भइरहेकोले जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा देखिने गरेको उनले बताए ।

यसले समुद्री सतहको वृद्धिमा भूमिका खेलेको वैज्ञानिकहरूको भनाइ छ । मानवीय कारणले नै विश्वव्यापी उष्णताको मात्रामा प्रतिवर्ष वृद्धि भइरहेको उनीहरूको भनाइ छ । सन् २००७ देखि १० सम्म सिरियामा देखिएको खडेरी, ग्रिनल्यान्डमा बरफका ढिक्का पग्लिने क्रम र पृथ्वीका कुनै भूभागमा देखिएका अल्प एवं अनावृष्टिजस्ता असर देखा परिरहेकोले जलवायु परिवर्तनको प्रभाव सही सावित पनि भएको धारणा उनीहरूको थियो ।

प्रतिक्रिया