धरपकड रोकिएन

इस्ताबुल ४ साउन । आतंकवादी समूहलाई सहयोग गरेको आरोपमा टर्कीको एक अदालतले मंगलबार ६ जना मानवअधिकारवादीहरूलाई हिरासतमा राख्न अनुमति दिएको छ । एम्नेस्टि इन्टरनेसनलका टर्कीका निर्देशकसहित ६ जना मानवअधिकारवादीलाई केही दिनअघि हिरासतमा लिइएकोमा उनीहरूलाई थुनामा राख्ने थप समय अदालतले अनुमति दिएको जनाइएको छ ।  टर्कीको एक मानवअधिकारवादी संस्थाले यसलाई न्यायका नाममा भएको हास्यास्पद निर्णयको संज्ञा दिएको छ । उक्त संस्थाले टर्कीको सरकारले अहिले पनि धरपकड नरोकेको जनाएको छ । टर्कीका निर्देशक इलिद इसेरसहित ७ जना मानव अधिकारदावीहरूलाई यही जुलाई ५ मा पक्राउ गरिएको थियो ।
मानवअधिकारवादी समूहका ६ जना अझै हिरासतमा रहेका छन् । एकजनालाई भने पहिल्यै छोडिएको थियो । नियन्त्रणमा रहेका अधिकारकर्मीलाई रिहा नगरिएको एम्नेस्टि इनटरनेसनका टर्कीका अनुसन्धानकर्ता एन्डरेउले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।टर्कीमा राष्ट्रपति रेसेप तायिप एन्र्डोगानको शासन सत्तामा सञ्चारकर्मी, मानवअधिकारवादी, वकिल, सेना र प्रहरीलगायत कैयौंलाई हिरासतमा राखिएको छ । टर्कीमा भएको असफल ‘कू’ को प्रयासको एक वर्षको समयमा पनि समाजका विभिन्न व्यक्तित्वहरूलाई पक्राउ गर्ने, सेवाबाट बर्खास्त गर्ने र सरकारको विरोधमा बोल्नेलाई मुद्दामामिला लगाउने कार्य जारी रहेको छ ।

प्रतिक्रिया