दक्षिण कोरियालाई उत्तरले जवाफ दिएन

daxin korea

सोल ४ साउन । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि सोमबार मात्र वार्ताको प्रस्ताव गरेको हो । तर, मंगलबारसम्म यस विषयमा कुनै सहमति वा असहमतिबारे प्रतिक्रिया उत्तरले दिएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुनसान क्युनले मंगलबार पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा आगामी शुक्रबार नै वार्ता गर्न दक्षिण कोरियाले प्रस्ताव राखेको थियो ।उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न तथा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलालाई कमगर्ने विषयमा यो शान्ति वार्ताको प्रस्ताव गरेको हो ।
प्रवक्ता क्युनले मंगलबार सोलस्थित रक्षा मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘हामीले आगामी शुक्रबारका लागि नै वार्ता गर्न उक्त क्षेत्रमा कुनै सैनिक क्रियाकलाप नगर्न र वार्ताबारे सहमति गर्न औपचारिकरूपमा नै प्रस्ताव पठाएका थियौं तर, त्यसको जवाफ भने आएको छैन ।’ यो प्रस्ताव विशेषत दुवै तर्फका नागरिकको पुनर्मिलनका लागि गरिएको थियो । सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट यो प्रस्ताव आएको हो ।  रेड क्रसले पनि सो वार्ताका लागि पहल गर्न भनेपछि दक्षिण कोरियाले पहल थालेको हो । उसको जवाफबमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने पनि प्रवक्ता क्युनले बताए ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्ने प्रयासस्वरूप पनि सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन भएको छैन । उत्तरले भने छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिने गरेको छ । कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रूपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको संख्याका नागरिक अलग भएर बसेका छन् ।

प्रतिक्रिया