दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

South-Korea-North-Koreaसोल । दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको खबर छ । प्रायः दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रूपमा लिइएको छ । रेडक्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको २ दिनपछि दक्षिणले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेको हो । सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समयसमयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेडक्रसले सो समय माग गरेको हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाउँमा आगामी शुक्रबार नै वार्ता गर्न प्रस्ताव राखेको छ । तर, रेडक्रसले भने सो वार्ता आगामी १ अगस्टका लागि प्रस्ताव गरेको जनाइएको छ ।

तर, यस विषयमा उत्तर कोरियाका तर्फबाट कुनै जवाफ आएको छैन ।उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने बताइएको छ । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यदि, यो प्रस्ताव उत्तर कोरियाले मान्यो भने सन् २०१५ को अक्टोबरपछि पहिलोपटक दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन हुनेछ । ती परिवारमध्ये सबैजनालाई नभएर छानिएका व्यक्तिलाई मात्र १ वा २ दिनसम्म आफन्तसँग बस्न दिइनेछ । कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रूपमा देश टुक्रिएका थिए ।

त्यसलगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजारभन्दा बढीको संख्याका नागरिक अलग भएका थिए । उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरू उत्तर कोरियाले आक्रामक रूपमा दिने गरेको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लंघन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले केही महिनाअघि दिएको सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम कोरियाली प्रायद्वीपका लागि मात्र नभएर विश्वकै लागि पनि शान्ति भंग गर्ने खतरा हो भनेका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निःशस्त्रीकरणका विषयमा वार्ता गरेको बताएका थिए ।

उनको यही प्रयासपछि पछिल्लो समयमा दक्षिण कोरिया उत्तर कोरियासँग नरम भएको अनुमान कतिपयले गरेका छन् । तर, निरन्तर रूपमा उत्तरले गरेको आणविक परीक्षणका कारण भने कोरियाली प्रायद्वीपमा अशान्ति कायमै छ । उनले गत महिना अमेरिकाको भ्रमण गरेका थिए । कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवं वार्ता गरेको र वार्ताले आपसी हितका अतिरिक्त कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वातावरण निर्माणमा सहयोग पुग्ने गरी आधार तय गरेको उनको धारणा थियो । विश्व समुदाय र संयुक्त राष्ट्रसंघले समेत हतियारको होडबाजीका रूपमा आणविक परीक्षणजस्ता क्रियाकलाप गरेर परिस्थितिलाई उत्तेजक बनाउने काम नगर्न गरिएका बारम्बारका अनुरोधका बाबजुद पनि उत्तर कोरियाले भने आणविक परीक्षणलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया