हटेन पहिरोको त्रास

टीका सुवेदी

bhotekoshiसिन्धुपाल्चोक । महाविनाशकारी भूकम्पले अस्तव्यस्त बनाएको जिल्लावासीको जनजीवन अझै त्रासपूर्ण बनिरहेको छ । भूकम्प र त्यसपछिका शक्तिशाली परकम्पनका कारण माथिको भीर तथा जमिनहरू फाटेको र वर्षातसँगै पहिरोको त्रासले पिरोलिइरहेका छन् । जिल्ला विभिन्न स्थानमा पहाडबाट पहिरो खस्न सुरु गरेको छ ।

मेलम्ची तथा तिपेनी लगायतका बजारमा झरिरहने ढुंगाले गर्दा सो क्षेत्रका बजारवासी त्रसित बनेका छन् । मेलम्ची नगरपालिका ६ र ७ का मेलम्ची बजार क्षेत्रको करिब एक किलोमिटर बस्तीमा पहिरोको जोखिम रहेको छ । सुख्खा समयमा समेत माथिबाट ढुंगा खस्ने गरेकाले बर्खाको समयमा झन् धेरै जोखिम रहेको स्थानीय बजारवासी बताउँछन् ।

पहिरोको डरमा बस्नुपरेको मेलम्ची बजारका स्थानीय टेकलाल श्रेष्ठ भन्छन् सुख्खा बेलामा आउने पहिरो र परकम्पले नै माथिबाट ढुंगा खस्छ भने बर्खाको बेलामा झन् के होला ? भन्ने डर सम्पूर्ण बजारवासीमा छ । यसको तत्काल रोकथाम गर्नको लागि केही उपाय नअपनाउने हो भने बर्खाको समयमा ठूलो धनजनको क्षति हुने सम्भावना रहेको श्रेष्ठ बताउँछन् । पहिरोको जोखिम भएको स्थानको सडकमाथि ढुंगाको ग्याबिन भरेर तत्काल पहिरो न्यूनीकरण गर्न सके केही हदसम्म सडक तथा बजार क्षेत्रमा पहिरोको डर कम हुने मेलम्ची बजारवासी बताउँछन् ।

हरेक बर्खामा जिल्लाको लागर्चे गाविसस्थित तिपेनी बजारमा पहिरोले सताउने गरेको स्थानीयवासी बताउँछन् । अहिले भूकम्पपछिको समयमा त झन् बढी जोखिम रहेको छ । एउटा सानो ढुंगा खस्यो भने आफ्नो पसलअगाडि नै आइपुग्छ ठुल्ठूला ढुंगाले त झन् मानवीय क्षति हुने ठूलो डर रहेको स्थानीय ब्रह्मलाल श्रेष्ठ बताउँछन् । बर्खाको समय यस तिपेनी बजार भएर मान्छे आवतजावत गर्नै डराउँछन् हरेक समयमा आउने पहिरोको कारण स्थानीय र यात्रुसमेत अतालिएका छन् । स्थानीयवासी पहिरोले तिपेनी बजार निकै जोखिमपूर्ण भएको भन्दै पहिरो रोकथामको लािग गाविस वा अन्य कु्नै निकायले चासो दिनुपर्ने बताउँछन् ।

विनाशकारी भूकम्पसँगै ग्रामीण तथा बजार क्षेत्रका विभिन्न स्थानमा धाँजा फाटेका र जमिनसमेत कमजोर बनाएका कारण जिल्लाको बरुवा, लागर्चे, लिस्ती, तातोपानी लगायतका स्थान पहिरोको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया