विश्वकै सर्वश्रेष्ठ प्राणी मानिस, जसले प्रविधिको विकास गरेर प्रकृतिलाई समेत चुनौती दिइरहेको छ । विकासको गतिले चुचुरो छुँदै गइरहेको छ । विश्वविद्यालयले हर विषयका विज्ञ र प्राज्ञहरु उत्पादन गरिरहेको छ । नेपाल कतिपय कुरामा विकसित देशभन्दा पछाडि होला । तर, शिक्षा र जनचेतनाको मामलामा छोटो समयमा भएको प्रगतिलाई कम भन्न मिल्दैन । मानिसको जीवनस्तरसँगै नेपाली समाज शिक्षित, सचेत, सभ्य र समुन्नत बन्दै गइरहेको छ । तर, केही गम्भीर भएर हेर्ने हो भने बाहिरबाट सभ्य देखिने हाम्रो समाज भित्रबाट भने कुरुप पनि छ । खाउँखाउँ लाग्ने बोक्रा भएको तर भित्र भने कुहिएको आँपजस्तै । नेपाली समाज पाप र पुण्यलाई मन भित्रैबाट मान्छ । अझ हिन्दू धर्म मान्ने हरेकले छोरीलाई लक्ष्मीको प्रतीक मान्छन् । चाडपर्व र पूजापाठ गर्दा टीका लगाएर खुट्टामा भगवानलाई जसरी नै ढोग्छन् ।
महिलाहरु हेपिएका छन्, पिछडिएका छन् । शिक्षित बन्दै गएको भनिएको हाम्रो समाजका अहिलेका धेरै छोरीहरु सम्मान र श्रद्धाका पात्र बनिरहेका छन् । तर, गतिलो अवसर पाए भने छोरी पनि परिवार र समाजको प्रतिष्ठा बन्न सक्छे भन्ने उदाहरण प्रशस्तै पाउन सकिन्छ । नेपालमै पनि छोरीहरु राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख बन्न सफल भएका छन् । अनुराधा कोइराला, पुष्पा बस्नेत, झमक घिमिरेलगायतको लामो सूची हामीसँग छ, जो कसैको छोरी भएरै पनि प्रतिष्ठित बने । उहाँहरुको नाम लिँदा एउटा परिवार मात्र होइन, सिंगो देशले गर्व गर्न सक्छ ।तर, कैयौं छोरीहरुले उज्यालो संसार हेर्ने पर्खाइमा आमाको कोखबाट आफ्नै जन्म कुर्दाकुर्दै हत्याको शिकार भइरहनु परेको छ । विडम्बना, सफलताको सूचीमा थपिन सक्ने सम्भावना बोकेका छोरीहरुलाई आफ्नै बाबुआमा, परिवार अनि समाजले गुपचुप रुपमा हत्या गरिरहेका छन् ।
वंश चलाउन छोरो नै चाहिन्छ भन्ने पूरातनवादी सोचले अहिलेसम्म पनि हाम्रो समाजमा जरो गाडिरहेको छ । छोरा जन्माउन चाहिने आमा चाहीं एउटा छोरी नै हो भन्ने कुरा किन हाम्रो परिवार अनि समाजले बिर्सिरहेका होलान् ? ती छोरा जन्माउने हरेक आमाहरुलाई पनि छोरी भएकै कारण तीन महिना पनि नपुग्दैको गर्भबाट उनीहरुका आमाले फालिदिएको भए के हुन्थ्यो ? यसबारे कतिले गम्भीर भएर कल्पना गरेका छन् ? धेरै अभिभावकले प्रविधिको गलत फाइदा उठाएर आफ्नो चाहनाअनुसार छोरो भए मात्र संसार हेर्ने अवसर दिन्छन् । छोरी भन्ने पत्तो पाउनेबित्तिकै कमलो मातृत्वप्रेम पनि कडा बनाउँछन् । अनि, संसार हेर्ने आशामा गर्भभित्रैबाट दिन गनिरहेका कैयौं अबोध छोरीहरु भ्रूण अवस्थामा नै मारिइरहेका छन् । तर, उसका बाबुआमा, परिवार अनि समाज भने केही समयपछि छोरो पाउने अर्को प्रयास गर्छन् । जुन कुरा मैलेमात्र नभई जो कोहीले पनि आफ्नै टोल, छिमेक र आफन्तजनहरुमा देखेको र सुनेको हुनुपर्छ ।
हिजोका दिनमा महिलाहरु पुरुषको इशारामा चल्नुपथ्र्यो । पुरुषले गरेको दमनलाई सहनुको विकल्प थिएन । आजको युगका महिलाहरु स्वतन्त्र छन् । संविधान र कानुनले नै उनीहरुलाई विशेषाधिकार दिएको छ । यद्यपि, ती विशेषाधिकार पूर्ण भने छैन । त्यसैले, महिलाहरु आफ्नो अधिकारका लागि लडिरहेका छन् । पुरुषप्रधान मान्यतालाई उखेलेर समान अधिकारको जग बसाल्न संघर्ष गरिरहेका छन् । तर, जन्मिएका छोरीको अधिकार सुनिश्चित हुँदै गर्दा पनि कैयौं छोरीले भने जन्मन नपाई आफ्नै आमाको ‘स्वीकृति’मा मर्नु परिरहेको छ । तिनका लागि कसले बोलिदिने ? सबैभन्दा सुरक्षित ठाउँ भनिएको आमाको कोखमा नै असुरक्षित भइरहेका छोरीको जन्मन पाउने अधिकारका लागि कसले लडिदिने ? फलस्वरुप, करकापमा होस् वा समझदारीमा नै किन नहोस्, लिंग परीक्षण गराई भ्रूण हत्या गर्ने क्रम भित्रभित्रै डरलाग्दो रुपमा बढिरहेको छ । जसकारण, वंश चलाउँछ भनेर जन्माएको छोराले भोलिका दिनमा बुहारी नपाउने स्थिति नआउला भन्न सकिन्न । यस्तै स्वार्थी सोच विकसित हुँदै गएमा कुनै एक बिन्दुमा पुगेर वंश रोकिनुको कुनै विकल्प छ र ? छोरी जतिलाई कोखमै सिध्याएपछि छोराले मात्रै वंश चल्छ ?
संसार प्रविधिको युगमा पुग्न जति पुरुषको भूमिका छ, महिलाको त्योभन्दा कम पक्कै छैन । महिला र पुरुष मिलेकै कारण प्रविधिको अकल्पनीय विकास सम्भव भएको छ । जसले मानव जीवनलाई सहजता र विलासीतातर्फ उन्मुख गराइरहेको छ । कुनै एकको अभाव हुँदो हो त, यो संसार उहिले शून्य भइसक्ने थियो ।हाम्रा पूर्खाहरुले पनि छोराहरु जन्माएका थिए, साथै छोरीहरुको अभाव पनि हुनदिएका थिएनन् । तर, अहिलेका मानिस अनौठो किसिमले ‘सचेत’ भइरहेका छन् । चारभाइ छोरा जन्मिदा कुनै चिन्ता लिदैनन् । तर, पहिलोबाट दोस्रो सन्तान पनि छोरी हुने बित्तिकै गर्भ जाँच गर्न पुग्छन् । डक्टरलाई पैसा ख्वाएरै किन नहोस् छोरी छ भने जबर्जस्ती निर्दयी बनेर कोखबाट फाल्न लगाउँछन् । समयसँगै सोच बदलियो । शिक्षाको ज्योति घरघरसम्म फैलियो । प्रविधिको विकास पनि भइरहेकै छ । त्यही प्रविधिले छोरीलाई आमाको कोखबाटै विनाश गराउँदैछ ।
मायाकी खानी भनिएका आमाबुबालाई निर्दयी बन्न सिकाउँदैछ । कोखबाट जन्मिने आफ्नै बच्चा पनि बजारमा सामान किने जसरी छानेर किन्न थालिँदैछ । एकभन्दा बढी छोरी गर्भमा आउने बित्तिकै फोहोर जस्तैगरी कोखबाट बढारिँदैछ । पशुले बरु आफ्ना छोराछोरी छुट्याउँदैन । आफ्नो बच्चाको सुरक्षा गर्छ । तर, २१औँ शताब्दीकी आमाले आफ्नो पेटमा भएको एउटा छोरीको रक्षा गर्न नसकेको देख्दा उदेक लागेर आउँछ । अनि भन्न मन लाग्छ, सक्छौ सन्तान जन्माउने रमाइलो कसरत नगर । सक्दैनौँ, जो कोखमा आउँछ उसलाई जन्मने मौका देऊ । छोराको खोजीमा छोरीको हत्या गर्नेहरुले सोचून्– तिमी मर्दा तिम्रै छोरीले पो काजकिरिया गर्नुपर्छ कि ! मरेपछि पिण्ड खान पाउँछु कि भनेर धेरै छोरीलाई मारेर जन्माएको छोराले नै पो अगाडि नै पिण्ड खान्छ कि ?
मृत्युको बारेमा को जान्दछ र ? वा, तिमीलाई वृद्धाश्रममा पठाएर विदेशतिर पो पुगेको हुन्छ कि ! छोरा र छोरी बराबर हुन् भनिन्छ । समान हक र अधिकारको प्रयत्न पनि भइरहेको छ । तर, कोखभित्र चाहीं छोरीलाई किन समान व्यवहार गरिंदैन ? जन्मिएकाहरु त बोल्छन् । आफ्नो अधिकारका लागि आफै लड्छन् । तर, उज्यालो संसार हेर्न उकुसमुकुस भएर संघर्ष गरिरहेकी छोरीको अधिकारको लागि कसले लडिदेला ? त्यसरी हत्या गर्ने र गराउनेलाई कसले कारबाही गरिदेला ?
प्रतिक्रिया