दानी मैयाँको अझै दान गर्ने धोको

जीवनभर दान गरेर कहिल्यै नथाकेकी मैयादेवी श्रेष्ठलाई अझै दान गर्ने धोको बाँकी नै छ ।  जीवनमा दान गरेको सबै हिसाबकिताब त थाहा छैन उनलाई तैपनि अहिलेको प्रचलित मूल्यअनुसार हिसाब गर्ने हो भने एक अर्बभन्दा बढीको सम्पत्ति उनले दान गरिसकेकी छन् ।बिपीको निधन अघि टुँडिखेलको अन्तिम सभामा सम्बोधन सुन्न काठमाडौं आइपुगेकी श्रेष्ठलाई सभापछि भेटघाट हुँदा बिपीले भोलिपल्ट घरमै डाके । त्यसो त बिपीले बोलाएको भन्ने खबरै पाएर उनले उपहारस्वरूप गाईको घ्यू, मह, कागती लिएर काठमाडौं गएकी थिइन् । भोलिपल्ट बिपी निवास पुगेकी उनलाई भावुक हुँदै बिपीले पत्नी सुशीलालाई देखाउँदै भने, ‘म अब धेरै बाँच्दिन यिनीहरूलाई बस्ने एउटा घडेरी दिन सक्नुहुन्छ ?’ श्रेष्ठले भने, ‘मेरो आँखाबाट आँसु आयो, मैले हुन्छ भनेँ, मेरो हातमा बिपीले सुशीलाको हात राखिदिनुभयो ।’ तर अहिलेसम्म उनले त्यो घडेरी दिन पाएकी छैनन् ।

८९ वर्षीया श्रेष्ठ विगत केही वर्षयता रोगका कारण कमजोर भएकी छन् । उनी भन्छिन्, ‘मैले सपनामा पनि बिपी बाबुलाई देख्ने गरेकी छु’ श्रेष्ठले भनिन् ‘बिपी पुत्र शशांकलाई एउटा घडेरी छुट्याएको छु । त्यो दिन पाए मेरो सबै इच्छा पूरा हुने थिए ।’ पछिल्लोपटक मेरो छोरा टंक बाबुले फोन गरेर बोलएपछि सानो भ¥याङ काठमाडौंको घरमा शशांकले भेटे पनि अमेरिकाबाट फर्किएपछि रजिस्ट्रेसन गरौँला भनेको उनले बिर्सेको छैन ।  आजभोलि शशांक फर्किने बताउँदै उनले भनिन्, ‘यो मेरो जीवनको अन्तिम इच्छा हो । यो घडेरी दिएपछि सबै इच्छा पूरा हुन्छ ।’ श्रेष्ठलाई आजभोलि समय समयमा बैंककमा लगेर उपचार गर्ने गरिएको छ । जब सम्पत्ति दान गर्छु तब आफ्नो स्वास्थ्यमा सुधार हुने गरेको उनी बताउँछिन् ।  उनले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पनि चामल, घ्यू, तेल, तरकारीलगायत सामग्री दिइराख्थिन् । कति वर्ष भट्टराईलाई खुवाएको भन्ने प्रश्नमा उनको जवाफ छ, ‘२००३ सालमा म राष्ट्रिय कां्रग्रेस बनेँ त्यसदेखि समयसमयमा पु¥याइराख्थेँ ।’
उनले कांग्रेस नेतालाई मात्रै होइन, पार्टीका लागि पनि दान गरेकी छन् । पार्टीका वडा, जिल्लादेखि केन्द्रीय कार्यालय भवनसमेत उनले दिएको जग्गामा बनेका छन् । ‘किसुनजीको आग्रहमा पार्टीलाई घरजग्गा दान गरेकी हुँ ।’ किसुनजीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भनिन्, ‘मैयाँ, पार्टी गरिब छ, पार्टीलाई कार्यालय चाहियो ।’ भट्टराईको यो भनाइपछि उनले आफू बस्दै आएको रविभवनस्थित घर पार्टीलाई दिइन् । त्यतिबेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालय त्यही घरबाट सञ्चालन हुन्थ्यो । हाल उक्त घरमा नेपाल तरुण दल र भूपू सेनानी संघको कार्यालय छ ।भरतपुर महानगरपालिका–३ मा रहको जग्गा श्रेष्ठले पार्टीको जिल्ला कार्यालय बनाउन दान दिइन् भने पार्टीको गोरखा जिल्ला कार्यालय निर्माणका लागि २० लाख दिएकी थिएन् । देवघाटमा पनि पार्टीका लागि घडेरी दान गरेकी छन् । यससँगै भरतपुरमा मैयादेवी कन्या क्याम्पसका लागि जग्गा खरिद गरी भवनसमेत निर्माण गरिदिएकी छन् । उनकै नाममा स्नातकोत्तरसम्मको पढाइ उक्त क्याम्पसमा हुँदै आएको छ ।
यसैगरी नेपाल प्रेस युनियन चितवन शाखालाई भरतपुर–११ मा, पिस फेडेरेसनलाई भरतपुर–११ मा, नारायणचारी बाबालाई देवघाटमा, डा.रामानन्द गिरी संरक्षक रहेको महेश सन्यास आश्रम देवघाटलाई, नारायणगढस्थित पतञ्जली योग समिति नेवा पुचःलाई पनि उनले जग्गा दान गरेकी छन् । अविवाहित उनको सेवामा समर्पित भएर छोरा बनाइएका टंकनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई गुजारा चल्ने गरी नारायणगढ बजारमा जग्गा दिएकी छन् ।
त्यसैगरी दाइका छोराहरू प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि उनले जग्गा दिएकी छन् । आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै घडेरी दिएकी छन् भने भान्से इन्दिरा ढकाललाई देवघाटमा घडेरी दिएकी छन् । पुजारी रामबहादुर कार्की र उनकी पत्नी देवीलाई देवघाटमा घडेरी दिएकी छन् भने यौवन अवस्थादेखिका साथी विष्णमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिएकी छन् । श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्येष्टिमा पाल्पाबाट झिकाएका शिस्वानी बाजे र बजैलाई पनि उनले नारायणगढ बजारमा घडेरी दिएकी छन् । पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रस्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्वमन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाइ प्रधानलाई देवघाटमा, नातिनी उन्नती अधिकारी र श्रेया पौडेललाई समेत उनले घडेरी दिएकी छन् ।
यसैगरी पूर्वप्रबन्धक खोपमबहादुरलाई बसेनीमा र सहयोगी काजीरामकी पत्नीलाई पनि बसेनीमा घडेरी दिएको श्रेष्ठले भनिन् ‘अरू पनि धेरैलाई दिएँ, तर सबैको सम्झना छैन ।’ उनको यतिका सम्पत्ति पुख्र्याैली नै हो । श्रेष्ठका पिता वीरबहादुर श्रेष्ठ १९९० ताका तनहुँको बन्दिपुरबाट स–परिवार नारायणगढ झरेका थिए । उनका पिता तत्कालीन अवस्थामा नारायणगढमा भारतदेखि सामान ल्याएर बिक्री गर्ने ठूला व्यापारी थिए । बाल्यकालदेखि छोराको रूपमा रहेर नै मैयादेवीको सेवामा समर्पित टंकनाथका अनुसार नारायणगढ बजारको मुख्य भाग सबै उनीहरूकै आफन्तको रहेको थियो । पौडेलले भने, ‘नारायणगढ बजारमा मात्रै करिब तीन बिगाहा जग्गा थियो ।’ नारायणगढमा मात्रै होइन, उनीहरूको भरतपुर–११ बसेनीमा १० बिघा, र तनहुँको देवघाटमा ३३ रोपनी जग्गा थियो ।

श्रेष्ठले जीवनभर दान दान गर्दै आएका श्रेष्ठको नारायणगढमा सात कट्ठा, बसेनीमा एक बिगाहा, देवघाटमा १२ रोपनी र भतेरीमा एक बिघा जमिन बाँकी छ । उनले नारायणगढमा आफू बस्दै आएको घर मैयादेवी ट्रस्ट खोलेर दान गरेकी छन् भने सोही ट्रस्टमा दुई करोड नगद पनि राखिदिएकी छन् । आफू बसेको घर ट्रस्टलाई दिएपछि भरतपुर–२ क्षेत्रपुरमा सानो घर किनेर बस्दै आएकी छन् । बाँकी सम्पत्तिमध्ये एउटा घडेरी डा. शशांक कोइरालाको नाममा रजिस्ट्रेसन गरेर दिने र बाँकी सबै सम्पत्ति ट्रस्टमा राख्ने उनको धोको छ । ११ वर्षको उमेरमा मैयादेवीको सेवा गर्न आएका ४६ वर्षीय टंकनाथले मैयादेवीका सामाजिक अभियानमा साथ दिँदै आएका छन् । दर्जनौँ संघसंस्थामा क्रियाशील देवघाट क्षेत्र विकास समितिका अध्यक्षसमेत रहका पौडेल दुःखी, गरिब, असहाय जो कसैले पनि मागेपछि मैयादेवी आमाले दिने गरेको बताउँछन् । उनले भने, ‘मैयादेवी आमाले मागेकालाई दिन्न भन्नुहुन्न ।’

जीवनभर दान गरेकी मैयादेवीले राजनीतिका धेरै पदमा बसेर पनि कहिल्यै कमाउने धन्दामा लागिनन् । निष्कलंक श्रेष्ठ गोरखा क्षेत्र नं २ बाट सांसद र राष्ट्रिय सभाको सदस्य भएर देश र जनताको सेवामा समर्पित भएकी थिइन् । पद र प्रतिष्ठाका लागि कहिल्यै मरिहत्ते नगर्ने उनले सधैँ पार्टी, राष्ट्र र जनताको भलो मात्रै सोचिरहिन् । मैयादेवीकै संगतले होला छोरा टंकनाथले पनि कुनै पनि बैठकमा भत्ता नलिने घोषण गरेका छन् । राजनीतिमा हुने आर्थिक चलखेल र राजनीतिलाई कमाउको पेसा बनाउनेहरूका लागि मैयादेवी एउटा उदाहरण हुन् । उनले अख्तियार गरेको बाटोमा हिँड्न सक्ने हो भने राजनीतिप्रतिको जनताको भावनामा पनि ठूलो परिवर्तन आउनेमा निश्चित छ ।

प्रतिक्रिया