खडेरीका कारण १५ प्रतिशत मात्रै रोपाइँ

pani ghuda khaet bajgai
चितवन १९ असार । समयमा नै मनसुन सक्रिय नहुँदा जिल्लामा १५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनमा ५० प्रतिशत धान रोपाइँ भएको छ भने पश्चिम चितवनको धान रोपाइँ न्यून भएकाले समग्र प्रतिशत १५ प्रतिशत हाराहारी रोपाइँ भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा कतिपय ठाउँमा अहिलेसम्म धानको बीउ राख्ने कार्य हुँदै छ तर गतवर्ष यतिबेला ३० प्रतिशत धान रोपाइँ भएको उनले बताए । जिल्लामा २९ हजार दुई सय हेक्टरमा वर्षे धान र पाँच हजार हेक्टरमा चैते धान रोपाइँ हुने गरेको छ । लामिछानेका अनुसार यसवर्षको वर्षे धान लगाइने क्षेत्रफल दुई सय हेक्टर हाराहारी घटेको छ ।

माछापालन ५० हेक्टर, प्लटिङ र केरामा एक सय ५० हेक्टर जमिन प्रयोग भएपछि धान रोपाइँ गर्ने क्षेत्रफल घटेको हो । गतवर्ष चैते धान १२ हजार मेट्रिक टन र वर्षे धान एक लाख आठ हजार मेट्रिक टन गरी एक लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कार्यालयले यसवर्ष एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन हुने लक्ष्य लिएको छ । जिल्लामा सावित्री, राम धान (वार), सामा मन्सुली, हर्दिनाथ–१, राधा–४ सहित हाइब्रिड जातमा गोरखनाथ, लोकनाथ, युएस ३ सय १२ लगायतका धान लगाइने गरिन्छ । लामिछानेका अनुसार १० प्रतिशत हाइब्रिडका धान लगाइँदै आएको छ ।
कार्यालयका प्रमुख सुधिर श्रेष्ठले भरपर्दाे सिँचाइ भएका ठाउँ बाहेकमा रोपाइँ हुन नसकेको बताए । मनसुन सक्रिय नहुँदा यसवर्ष धान रोपाइँमा ढिलो हुने देखिएको उनले बताए । धेरै खेतमा आकाशे पानीको भरपर्नुपर्ने हुँदा रोपाइँमा ढिलाई भएको पनि उनले बताए । कुलोबाट सिँचाइ हुने र ठूला घोलहरूमा मात्र रोपाइँ भएको छ । जिल्लामा साउन अन्तिमसम्म धान रोपाइँ हुने गर्दछ ।

प्रतिक्रिया