नेपाली र भारतीय पर्यटन व्यवसायीबीच अन्तक्रिया

पोखरा १९ असार । भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन बिहारको राजधानी पटना पुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले त्यहाँका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको छ । यहाँस्थित पश्चिमाञ्चल होटल संघको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा गत १६ असारदेखि ‘चलिए पोखरा’ अभियान सुरु गरिएको थियो । औपचारिक रूपमा ६ वर्ष अघि सुरु भएको यो अभियान यसपटक २० असारबाट सम्पन्न हुनेछ । ‘बोर्डर टाउन सेल्स मिसन’ नाम दिइएको सो अभियानमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जना सहभागी छन् । आइतबार उत्तर प्रदेशको लखनउमा भ्रमण टोलीले अन्तर्क्रिया गर्ने संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

गोरखपुरमा अन्तिम कार्यक्रम आयोजना गरिनेछ । विनाशकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको छ । पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय सहरमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्देश्य रहेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाट कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना अभियानले समेटेको छ ।

प्रतिक्रिया