काठ पाउने भ्रममा ३० हजार आवेदन

बनेपा १९ असार । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितले घर बनाउन भन्दै ३० हजार भूकम्प पीडितले जिल्ला वन कार्यालय आवेदन दिएका छन् । सालको काठ निःशुल्क पाउने भ्रममा ३० हजार आवेदन कार्यालयमा चाङ लागेको र अन्य थप निवेदन पनि दर्ता हुने क्रममा रहेको जिल्ला वन कार्यालयका अधिकृत प्रेम खनालले जानकारी दिए । निःशुल्क सालको काठ पाउने भन्ने भ्रममा भूकम्पपीडित छन् तर उनीहरूले निःशुल्क नपाउने उनले जानकारी दिए । भूकम्पपीडितका लागि काभ्रेपलाञ्चोकमा १० हजार क्युफिट काठ आवश्यक भएकाले वन विभागलाई पत्राचार भएको जानकारी दिँदै वन अधिकृत खनालले दसैँ आसपासमा ती काठ तराईका जिल्लाबाट पैठारी गरेर वितरण गरिने बताए ।
घर बनाएको नक्सा पास, लालपुर्जा, तिरो तिरेको रसिद, वास्तविक भूकम्पपीडित भएको परिचयपत्र र सामुदायिक वनको सिफारिस पत्रलगायत कागजात माग गरेका छौँ, छानबिन गरेर वितरण गर्छौं– उनले भने । सालको काठ काठमाडौंमा प्रतिक्युफिट ६ हजार पाँच सय पर्छ तर बजार मूल्यभन्दा सस्तोमा उपभोक्तालाई काठ वितरण हुन्छ । यसैबीच जिल्ला वन कार्यालयले धोबीखोला सामुदायिक वनमा रहेको धुलिखेल हाई रिसोर्ट र गौखुरेश्वर सामुदायिक वनमा रहेको हजार सिढी रेस्टुरेन्टले वन अतिक्रमण गरेको भन्दै हटाएको छ । त्यस्तै नगरकोटमा पनि भएको वन अतिक्रमण हटाउन भक्तपुर र काभ्रेपलाञ्चोकको समन्वय बैठक राख्ने तयारी भएको अधिकृत खनालले जानकारी दिए ।

प्रतिक्रिया