अमेरिकी सफ्टवेयर किन ल्याउन खोज्दैछन् गृहमन्त्री ?

anardan sharmaकाठमाडौं, १५ असार । गृहमन्त्री जनार्दन शर्माले आतंककारीको सम्भावित आगमन रोक्न त्रिभुवन विमानस्थलसहित सबै अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको अमेरिकी सफ्टवेयर तत्काल लागू गर्ने आफ्नो मार्गचित्रमा उल्लेख गरेका छन्। गृहमन्त्री शर्माले मंगलबार गृह प्रशासन सुधार मार्गचित्र ०७४ सार्वजनिक गर्दै अध्यागमनमा भएको विद्यमान इमी सफ्टवेरलाई प्रतिस्थापन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसहित नौवटै अध्यागमन नाकामा बोर्डर कन्ट्रोल सिस्टमसहितको सफ्टवेयर प्रणाली लागू गर्ने उल्लेख छ।

‘अमेरिकी सफ्टवेयर लागू गर्ने भनिए पनि अध्यागमनका संवेदनशील डाटा कसरी सुरक्षित गर्ने भन्ने विषय विवादित नै छ’, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘सफ्टवेयर लागू गर्नुअघि अमेरिकासँग के कस्तो सूचना आदानप्रदान हुने हो, त्यसमा दुवै पक्ष स्पष्ट हुनुपर्छ। सफ्टवेयर लागू भएपछि विवादित नबनोस् भन्ने हाम्रो चाहना हो।’ अन्नपूर्ण पोष्टमा खबर छ ।

आतंककारीको आगमन रोक्न ‘पाइसेजु सफ्टवेयर लागू गर्ने अन्तिम तयारी भए पनि अध्यागमनमा सुरक्षासँग जोडिएका संवेदनशील तथ्यांक कसरी सुरक्षित गर्ने भन्ने विषयमा अध्यागमन र गृह मन्त्रालयले केही भनेका छैनन्। अघिल्लो सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि पनि ‘पाइसेज’ लागू हुने विषय गोप्य राख्यो । अमेरिकाले पहिलो चरणमा विमानस्थल अध्यागमनमा उक्त सफ्टवेयर लागू गर्न चाहेको र विस्तारै अन्य नाकामा समेत राख्दै जाने गृह स्रोतले बताएको छ।

अमेरिकाले ‘पाइसेज’ सफल सफ्टवेयर भनेर दाबी गरे पनि कतिपय मुलुकले प्रभावकारी नभएको भन्दै हटाइसकेका छन् ।
सफ्टवेयर राखेपछि अमेरिकाले सबै डाटामा पहुँच खोजे पनि गृह मन्त्रालयले शंकास्पद व्यक्तिको मात्र सूचना आदानप्रदान गर्न सकिने जवाफ दिएको स्रोतले जनाएको छ। अध्यागमनमा ‘पाइसेज’ सफ्टवेयर राखेपछि अमेरिकासँग सूचना आदानप्रदान र सहकार्य हुनेछ । अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न ‘पाइसेज’ प्रणाली लागू गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया