मुक्त बजार कति मुक्त छ ?

naom-chomsky_DID1z255Sd
जुन युगमा हामी प्रवेश गर्दै छौँ, त्यसका आफ्नै पारम्परिक सिद्धान्त र पूरा गर्न सकिने केही वाचाहरू छन् । मुख्य कुरा के हो भने यी असल मान्छेहरूले शीत युद्ध जितिसकेका छन् र उनीहरू पुँजीवादी घोडामा तुफानी शैलीमा हाँक्किएका छन् । हुन सक्छ अगाडिको बाटो सहज नहोस् तर के चाहिँ हुँदै होइन भने फगत त्यो लक्ष्य पूरा गर्नै सकिँदैन । उनीहरू डुब्दै गरेको सूर्यको पछिपछि दौडिरहेका छन् । किनभने उनीहरूलाई उज्ज्वल भविष्य प्राप्त हुनेछ भन्ने लाग्छ । साथै आदर्श के हो ? जसको यिनीहरूले सधैँ गुणगान मात्रै गाइरहे, ती हुन्, लोकतन्त्र, मुक्त बजार र मानव अधिकार ।
वास्तवमै विश्वमा मानवअधिकार, लोकतन्त्र र मुक्त बजार अग्रणी भनिएका औद्योगिक समाजहरूमा मात्र नभई निकै धेरै देशहरूमा नराम्रा खतराहरूमा गुजुल्टिएको छ । सत्ता उत्तरोत्तर यस्ता संस्थाहरूमा केन्द्रित भइरहेको छ, जहाँ ऊ जवाफदेही हुन नपरोस् । धनी र शक्तिशाली बजारको अनुशासन र दबाब स्वीकार्न इच्छुक छैनन्, जबकि उनीहरू पनि पहिले यसभन्दा बाहिर थिएन । कुराको गाँठो मानवअधिकारबाट फुकाउँदा ठिकै होला, किनभने यहीँबाट कुरा गर्न सजिलो छ । संयुक्तराष्ट्र संघको महासभाले सन् १९४८ मा मानवअधिकारलाई वैश्विक घोषणा पत्रमा समावेश गरिसकेको थियो । अमेरिकामा यस घोषणापत्रको वैश्विकताको सैद्धान्तिक पक्षमा निकै सुन्दर सुनिने शब्दमा राप अलापी राखिएको थियो, जुन आज प्रयान्त जारी छ ।

सांस्कृतिक सापेक्षतावादको वकालत गर्ने तेस्रो विश्वका मानिस र उत्पीडितहरूको अगाडि यसलाई निकै उचित ठम्याउने गरिएको छ । जसमा अमेरिकाको आफ्नै स्वार्थ छ भन्नेमा कमैलाई शंका छ । यी सबै कुराहरू यसअघि वियना कन्भेन्सनमा चरममा थिए । तर, वैश्विक घोषणापत्रको वास्तविकतामा यस रागको झिनो पनि असर परेन । तथापि यसको धारा २५ मा भनिएको छ– ‘प्रत्येकलाई आफ्ना लागि र आफ्नो परिवारको स्वस्थ्यका लागि उचित जीवनस्तर निर्माण गर्ने अधिकार छ । यसमा गाँस, बास, कपास, स्वास्थ्य र अरू आवश्यक सामाजिक सेवा पनि सामेल हुनेछ । यसमा बेरोजगारी, बिरामी, अपांगता, बुढ्यौली अथवा अन्य रोजगारीको साधन नहुने अवस्थामा सुरक्षाको अधिकार पनि सामेल छ ।’
यी कुरा विश्वको सबैभन्दा धनी देशमा कसरी सही हुन सक्छ ? देश पनि यस्तो जुन अतुलनीय छ र जोसँग यी कुराहरूलाई सही होइनन् भन्ने कुनै बहाना छैन । औद्योगिक जगतमा अमेरिकाको गरिबीको रेकर्ड सबैभन्दा दयनीय छ । इंग्ल्यान्डभन्दा पनि दोब्बर । लाखौँ मानिस भोकै सुत्छन् । जसमा लाखौँ रोगी र कुपोषणबाट ग्रसित बालबालिका पनि सामेल छन् । न्युयोर्क सहरमा ४० प्रतिशत बालबालिका गरिबीको रेखाभन्दा तल जीवनयापन गर्दै छन् । उनीहरू यस्तो न्यूनतम सुविधाहरूबाट समेत वञ्चित छन्, जसले उनीहरूलाई चरम नैराश्यता र क्षोभमा अलिकति भए पनि आशा जगाउन सकोस् ।

धारा २३ मा लेखिएको छ– ‘हरेकलाई न्यायोचित र अनुकूल परिस्थितिहरूमा काम गर्ने अधिकार छ ।’ आइएलओको हालै एउटा रिपोर्ट छापिएको छ, जसमा विश्वभरिको बेरोजगारीको अनुमान लगाइएको छ । जनवरी १९९४ मा जीवन निर्वाहका लागि जोसँग काम छैन, त्यसको संख्या ३० प्रतिशत छ । यस रिपोर्टमा सही नै भनिएको छ कि यो सन् १९३० को दशकभन्दा निकै विकराल अवस्था हो । यति मात्र होइन, विश्वभरि मानव अधिकारको दुर्दशाको यो एउटा पाटो मात्र हो ।युनेस्कोको के अनुमान छ भने करिब पाँच लाख बालबालिका प्रत्येक वर्ष ऋण तिर्नुपर्ने बोझका कारणले मारिएका छन् । ऋण तिर्नुको अर्थ हो, बैंकहरूले आफ्ना मालिकहरूलाई ऋण दिएर डुबे र अब त्यो ऋण गरिबहरूको थाप्लोमा आइपरेको छ । जसलाई तिर्नु उनीहरूको सामाजिक कर्तव्य र बाध्यता हो । जसको यस्ता ऋणसँग कुनै सरोकार नै छैन । धनी देशहरूमा करदाताले यस्ता ऋणसमेत तिर्नुपर्छ । किनभने, यहाँ ऋणको सामाजीकरण गरिएको हुन्छ ।

यस्तो धनीहरूको समाजवादमा हुन्छ, जसलाई हामीले मुक्त उद्यम (फ्रि इन्टरप्राइज) भन्छौँ । कसैले बैंकहरूबाट यस्तो अपेक्षा नै गर्दैनन् कि डुब्दै गरेको ऋणको भरपाई बैंक आफैले गरोस् । त्यो त मेरो र तपाईंको काम हो । विश्व स्वास्थ्य संगठनको अनुमान के छ भने एक करोडभन्दा धेरै बालबालिकाहरू प्रत्येक वर्ष यस्तो रोगका कारण मर्ने गरेका छन्, जसको उपचार निकै सजिलो छ । विश्व स्वास्थ्य संगठनका प्रमुख यसलाई एउटा सामूहिक हत्याकाण्ड भन्छन् । जसलाई सधँै थोरै–थोरै पैसा जोडेर रोक्न सकिन्छ र सकिन्थ्यो । अमेरिकामा अहिले केही सुधार आएको छ । तर, त्यसको गति निकै उदेकलाग्दो छ । पछिल्लो वृद्धिको तुलनामा एक तिहाइभन्दा पनि कम । यति मात्र होइन, जुन जागिरहरू निस्किएका छन्, त्यसमा एक चौथाइभन्दा धेरै अस्थायी छन् र ती पनि अर्थव्यवस्थाको उत्पादक हिस्सामा होइन ।

अर्थशास्त्री लेबर मार्केटमा भएको खुकुलोपनका कारण अस्थायी रोजगारीमा वृद्धि भएको भन्दै स्वागत गरिरहेका छन् । उनीहरूलाई के कुराले कुनै फरक पर्दैन भने एउटा मजदुर राती सुत्न लाग्दा भोलि बिहान उसको जागिर अथवा काम ऊसँग रहने छ कि छैन । यो मुनाफा कमाउनेहरूका लागि त राम्रो हो, मानिसहरूका लागि होइन । जसको अर्थ के हो भने यो अर्थव्यवस्थाका लागि प्राविधिक कारणहरूले यो सही छ । रोजगारीमा आएको सुधारको अर्को एउटा आयाम छ– काम धेरै, पैसा थोरै । यसमा काम बढ्दै जानेछ र ज्याला घट्दै जानेछ । सुधारका लागि यो कुरा निकै बेमिसाल छ । प्रतिएकाइ उत्पादनको मजदुरीका हिसाबले अमेरिकामा मजदुरी ब्रिटेनलाई छोडेर औद्योगिक जगतमा सबैभन्दा कम छ । सन् १९९१ मा अमेरिकामा यो इंग्ल्यान्डभन्दा पनि कम भयो तर, इंग्ल्यान्डले आफ्नो स्थितिमा सकारात्मक उन्नति गरेपछि गरिब र मजदुरलाई कुल्चिने प्रतिस्पर्धामा अमेरिकाले पहिलो स्थान ओगट्यो ।

अमेरिकामा जुन मजदुरी सन् १९८३ मा विश्वमै सबैभन्दा माथि थियो (जुन धनी देशहरूमा अपेक्षित पनि हुन्छ) त्यो आज जर्मनीमा कम छ र इटलीमा २० प्रतिशत कम छ । यस परिवर्तनको बारेमा ‘वालस्ट्रिट जर्नल’ले लेख्यो– ‘अति महत्वको स्वागतयोग्य परिवर्तन । आमरूपमा के दाबी गर्ने गरिन्छ भने यस्तो स्वागतयोग्य परिवर्तन प्राकृतिक नियमहरू जसरी बजारको शक्तिको स्वभाविक परिणाम स्वरूप हुन्छ । यसका लागि दुइटा कारकहरूको पहिचान गरिएको छ– अन्तर्राष्ट्रिय व्यापार र अटोमेसन । तर, विनम्र निवेदन के छ भने यो भ्रम पैदा गर्ने कुरा हो । न व्यापार, न अटोमेसन दुवैको बजारको शक्तिसँग गोरु बेचेको नाता पनि छैन ।’ व्यापारलाई नै लिनुस् न, व्यापारको बारेमा एउटा निकै प्रचलित तथ्य के छ भने व्यापारलाई निकै धेरै छुट (सब्सिडी) दिइन्छ, जसले गर्दा बजारमा निकै हदसम्म नकारात्मक विकार पैदा हुन्छ ।

मेरो विचारमा आजसम्म कसैले पनि यसको परीक्षण गर्ने प्रयास गरेका छैनन् । सबैले के मान्ने गर्छन् भने हरेक प्रकारका परिवहनलाई निकै धेरै सब्सिडी दिइन्छ । भलै त्यो समुन्द्री यातायात होस्, हवाई होस्, सडक अथवा रेलको माध्यम नै किन नहोस् । व्यापारका लागि परिवहनको आवश्यकता हुन्छ । त्यसैले परिवहन खर्चलाई व्यापारको क्षमताको खर्चमा जोडिने गरिएको छ । तर, परिवहनको लागत कम गर्न निकै सब्सिडी हुने गरेको छ । जुन ऊर्जाको खर्चका रूपमा अन्य सय प्रकारका बजार बिगार्ने रूप हुन्छन् । यो कुरो बुझ्न सजिलो छैन । एकैछिन अमेरिकाको पेन्टागनलाई लिनुस्, यो एउटा ठूलो कुरा हो । पेन्टागनको निकै ठूलो भाग त्यो फोर्सको हो जुन डरलाग्दा अस्त्रको टाउको मध्यपूर्वतर्फ तानेर बसेको छ । यसले के कुरा सुनिश्चित गर्छ भने अमेरिकाले हस्तक्षेप गर्न चाह्यो भने कोही पनि बीचमा आउन नसकोस् । यसको ठूलो लक्ष्य भनेको तेलको मूल्यमा एक हदसम्म आफ्नो नियन्त्रण कायम राख्नु ।

मूल्य निकै कम पनि गर्न सकिँदैन, किनभने अमेरिका र ब्रिटेनका कम्पनीहरूले मोटो मुनाफा कमाउनुपर्ने हुन्छ । यी मुलुकहरूलाई पनि मुनाफा कमाउनुपर्ने हुन्छ । किनभने, अमेरिका र लन्डनमा यिनले आफ्ना मालिकहरूलाई पठाउन सकून् । त्यसैले मूल्य निकै कम पनि होइन । तर, धेरै चर्को मूल्य पनि होइन किनभने व्यापारलाई पनि चुस्त दुरुस्त राख्नु पर्नेछ । म बाहिरी प्रभाव, प्रदूषण आदिबारे त कुरा नै गरिरहेको छैन । यदि व्यापारको असली खर्चको हिसाब लगाउने हो भने, बाहिरी रूपमा देखिने व्यापारको यो कुशलता धेरै हदसम्म तल खस्किने छ । कसैलाई थाहा छैन कुन हदसम्म ।
(चोमस्कीले सन् १९९६ मा लन्डनमा दिएको यो लामो भाषणको संक्षिप्त अनुवाद हामीले कबाडखाना ब्लगबाट लिएका हौँ । चोमस्कीको यो भाषण मुक्त बजारलाई बुझ्न निकै सहयोगी छ । )
हाइलाइट ः युनेस्कोको के अनुमान छ भने करिब पाँच लाख बालबालिका प्रत्येक वर्ष ऋण तिर्नुपर्ने बोझका कारणले मारिएका छन् । ऋण तिर्नुको अर्थ हो, बैंकहरूले आफ्ना मालिकहरूलाई ऋण दिएर डुबे र अब त्यो ऋण गरिबहरूको थाप्लोमा आइपरेको छ । जसलाई तिर्नु उनीहरूको सामाजिक कर्तव्य र बाध्यता हो । जसको यस्ता ऋणसँग कुनै सरोकार नै छैन । धनी देशहरूमा करदाताले यस्ता ऋणसमेत तिर्नुपर्छ ।

प्रतिक्रिया