प्रहरीमा बढुवाको तयारी

urja-mantri-janardan-sharmaकाठमाडौं २ असार । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा प्रहरी मुख्यालयले रिक्त पदहरूको बढुवा तयारी गरेको छ ।  बढुवा समिति बनाएर कुनकुन पदको बढुवा चुनाव अगाडि र कुन पछाडि गर्ने भन्ने तयारीमा प्रहरी प्रधान कार्यालय जुटेको छ । प्रहरी मुख्यालय स्रोतका अनुसार केही दिनमा नै प्रहरीको बढुवा गर्ने तयारी छ । त्यसका लागि गृहकार्य सुरु भइसकेको छ ।  प्रहरी संगठनभित्रको बढुवा रोकिँदा प्रहरीको वृत्तिविकासमा प्रभाव पारेको भन्दै केही दिनअघि गृहमन्त्रीले फटाफट बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।  बढुवा रोकिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) चार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १०, एसपी १२, प्रहरी नायब उपरीक्षक (डिएसपी) ७० र प्रहरी निरीक्षक दुई सय ५० भन्दा बढी पद रिक्त रहेका छन् ।

समयमा नै बढुवा नहुँदा केही प्रहरीले उमेर हदका कारण अनिवार्य अवकाशसमेत पाइसकेका छन् । जनार्दन शर्मा गृहमन्त्री भएलगत्तै बढुवाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि प्रक्रिया सुरु भएको स्रोतले बतायो ।  नियमअनुसार माथिल्लो तहबाट बढुवा गर्नुपर्ने प्रावधान भए पनि कुन पदमा पहिले बढुवा गर्दा सहज हुन्छ, त्यसको बढुवा गर्ने तयारी भइरहेको प्रहरी उच्च स्रोतले बताएको छ ।  एआइजीमा कति पद रिक्त हुने भन्ने अन्योल छ, जसका कारण पनि डिआइजी बढुवा पहिले हुने देखिन्छ । अहिले बढुवा भएका डिआइजीमध्येबाट नै महानिरीक्षक प्रकाश अर्यालको कार्यकालपछि महानिरीक्षकमा बढुवा हुनेछन् ।

प्रहरी नियमावली २०७१ अनुसार आगामी कात्तिकसम्म कार्यसम्पादन मूल्यांकन बुझाउने अवधि छ । आर्थिक वर्षको अन्त्यसम्म बढुवा नगरिए प्रक्रिया लम्बिँदै जाने र झनै झन्झटिलो हुनेछ । त्यसैले गृहमन्त्री शर्माले फास्ट ट्रयाक अपनाएर भए पनि बढुवा प्रक्रिया अघि बढाउन प्रहरी प्रमुखलाई निर्देशन दिएपछि बढुवाको बाटो खुलेको हो ।

प्रतिक्रिया