गद्दाफीका उत्तराधिकारी रिहा

gaddaphi
लिविया । सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीको उत्तराधिकारीका रूपमा हेरिएका व्यक्तिलाई जेलबाट रिहा गरिएको बताइएको छ । पश्चिमी लिबियाको जिन्तान नगरमाथि नियन्त्रण गरेको एक लडाकु समूहले गद्दाफीका दोस्रो छोरा सेफ अल–इस्लामलाई शुक्रबार एक माफी सहमतिअन्तर्गत रिहा गरेको हो ।  लिबियामा भएको क्रान्तिका क्रममा सन् २०११ मा कर्णेल गद्दाफी मारिए लगत्तै सेफ अल–इस्लामलाई पक्राउ गरिएको थियो । सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले तत्कालीन सत्ताविरुद्धको आन्दोलनलाई दबाउने विफल प्रयासका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उनलाई मृत्युदण्ड सुनाएको थियो ।
तर लडाकु समूहले उनलाई बुझाउन अस्वीकार गर्दै आएको थियो । लडाकु समूहको नियन्त्रणमा उनी ६ वर्षसम्म रहे । युद्ध अपराध तथा मानवताविरुद्ध अपराधका मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनको खोजी गरिरहेको छ ।  यसअघि पनि उनी रिहा गरिएका झुटा खबरहरू सार्वजनिक भएका थिए । ४४ वर्षीय सेफ अल–इस्लामले लन्डन स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधी गरेको बताउने गरिए पनि त्यो विवादास्पद छ । दशकौँ लामो गद्दाफी शासन अन्त्य भएपछि लुक्दै बसेका सेफ अल–इस्लाम तीन महिनापछि समातिएका थिए ।

सन् २००० पछि पश्चिमा मुलुकहरूसँग लिबियाको सम्बन्ध बढाउने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । पिताको शासनकालमा उनलाई एक जना सुधारवादीका रूपमा लिइन्थ्यो । समातिएपछि उनीसहित गद्दाफीका ३० जना सहयोगीविरुद्ध मुद्दा चलाइएको थियो । शुक्रबारको उनको रिहाइबारे त्रिपोलिस्थित सरकारी पक्षबाट कुनै पुष्टि गरिएको छैन । यद्यपि लडाकु समूह अबु बकर अल–सिद्दिक बटालियनको फेसबुक पेजमा संसद्ले उनलाई माफी दिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया