सम्पादकीय

प्रधानमन्त्री देउवालाई शुभकामना

सौर्य अनलाइन २०७४ जेठ २४ गते ९:१४ मा प्रकाशित

कांग्रेसका सभापति शेरबहादुर देउवा चौथोपटक नेपालका प्रधानमन्त्री भएका छन् । देशमा गणतन्त्र स्थापना भएपछि भने यो उनको पहिलो सत्तारोहण हो । एमाले तथा माओवादी केन्द्रको गठबन्धन टुटाएर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा देउवाले आफ्नै पार्टी पंक्तिबाट पनि चर्कै आलोचना सहनुपरेको थियो । तर, दाहालले देउवाको गुन तिरे । अहिले दाहाल नेतृत्वको गठबन्धनकै निरन्तरताका क्रममा देउवा प्रधानमन्त्री निर्वाचित भएका छन् । सम्भवतः यसले दाहाल र देउवाप्रति आक्रामक कांग्रेस कार्यकर्ताको पंक्तिको आक्रोश केही मत्थर बनाउनेछ । करिब दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री भएकाले देउवालाई संसदीय बहुमत जोगाउन खासै कसरत गर्नुपर्ने पनि छैन ।

यसले उनलाई दुईपटक राजाले भिराएका अक्षमताको पगरी फाल्ने मौका पनि दिएको छ । देउवाले मन्त्रिपरिषद् गठन गर्दा पक्कै पनि एकमना सरकारको जस्तो स्वतन्त्रता पाउदैनन् । अनेकौँ अप्ठेराहरूसँग सम्झौता गर्नुपर्ने हुनसक्छ । तर, दुनियाँले छिः भन्ने अवस्था रोक्न भने उनले आँट गरे भने पक्कै पनि सक्नेछन् ।
निर्वाचन आयोगलाई काम गर्ने वातावरण बनाइदिन र आचारसंहिता पालना गरेर सघाउन प्रधानमन्त्रीले विशेष ध्यान दिनुपर्छ । दोस्रो चरणको निर्वाचन गराउन नसक्नेबित्तिकै देउवाको औचित्य समाप्त हुन्छ । आक्रामक विपक्षी दल एमालेसँग विश्वास कायम गरेर अगाडि बढ्न सहज हुनेछैन । राष्ट्रिय जनता पार्टीस“ग गरेका संविधान संशोधनलगायतका सहमति कार्यान्वयनमा इमानदार हुनु उनका लागि अर्को चुनौतीपूर्ण कार्य हुनेछ । सत्तारोहणपछि विगतमा देउवामाथि स्थायी संस्थापन भनिने काठमाडौंका सम्भ्रान्तहरूको कुरा बढी सुन्ने गरेको आरोप लागेको छ ।

मधेसका माग पूरा गर्न संविधान संशोधन गर्ने विषय संस्थापनलाई चित्त बुझेको छैन । देउवामाथि पक्कै पनि एमाले र संस्थापन दुवैको दबाब पर्नेछ । त्यसपछि प्रदेश र संघको निर्वाचनका लागि उपयुक्त वातावरण बनाउने र आफ्नो दलको खस्क“दो जनाधार जोगाउने देउवाका सामु रहेको अर्को चुनौती हो । मधेसी दलसँगको सहमतिप्रति इमानदार हुने तर राष्ट्रियता र राष्ट्रिय अखण्डतामा आँच आउन नदिने गरी सन्तुलन मिलाउन सकेमा प्रदेश र संघको निर्वाचन हुने र कांग्रेसको जनाधार पनि पुनः फराकिलो हुने सम्भावना हुन्छ । प्राधिकरणलाई अनावश्यक बन्धनबाट मुक्त गर्ने हो भने पुनर्निर्माण कार्यले गति पाउने विश्वास गर्न सकिन्छ । इमानदार प्रयास गरेको देखियो भने मधेसी दलहरूले सम्भवतः अरू निर्वाचनहरूमा अहिलेजस्तो गौँडो कुरेर बस्ने छैनन् ।

यसैले देउवाले धेरै महत्वाकांक्षा नराखी तीनै तहको चुनाव गराउने र त्यसका लागि वातावरण बनाउन संविधान संशोधन गरेर मधेसको माग सम्बोधन गर्ने काममा मात्र ध्यान दिनु उचित हुनेछ । अहिलेको कार्यभार मात्रमा ध्यान केन्द्रित गरे भने उनीमाथि तेस्रोपटक अक्षम भएको आक्षेप लाग्ने छैन । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना !

प्रतिक्रिया