आसिग्रामदेखि सिंहदरबारसम्म पुगेका देउवा चाैथाे पटक प्रधानमन्त्री

sher_bahadur_deuba_759काठमाडौं २४ जेठ । चौथोपल्ट मुलुकको बागडोर सम्हाल्न पुगेका देउवा ‘बोल्ड डिसिजन’ लिन सक्ने नेतामा गनिए पनि विवादरहित भने छैनन् उनका धेरैजसो कदम विवादास्पद हुने गरेका छन् । प्रधानमन्त्री हुँदा होस् वा पार्टीको नेतृत्वमा रहँदा उनी विवादबाट टाढा रहनै सक्तैनन् । अप्ठेरोमा पनि आफ्नो निर्णयमा अडिग रहने देउवा चौथोपटक देशको कार्यकारी प्रमुख अर्थात् नेपालका प्रधानमन्त्री निर्वाचित भएका छन् । संयोग, उनी जहिले जहिले प्रधानमन्त्री भए त्यति त्यति नै बेला देशमा जटिलता देखापरेको छ । देउवा सुदूरपश्चिका ‘आइकन’ हुन् । ३१ जेठ २००३ मा रुवाखोला, आसिग्राममा जन्मिएका शेरबहादुर देउवाले २३ जेठमा प्रधानमन्त्रीको माला पहिरिन पुगेका छन् । सुदूरपश्चिमको पहाडमा जन्मिएर सिंहदरबारमा चार÷चारपटक अड्डा जमाउने भाग्यमानी पनि हुन पुगेका छन् । हाल काठमाडौंको बूढानीलकण्ठमा बसोबास गर्दै आएका देउवाका पत्नी आरजु राणा देउवा र एक छोरा छन् ।
देउवा अध्ययन र चिन्तनमा रूचि भएकै नेता हुन् । विचार सिद्धान्तप्रति अविचलित देउवाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यति मात्र होइन उनले लन्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलोका रूपमा राजनीतिशास्त्र विषयमा अध्ययनसमेत गरेका छन् । त्यसका अतिरिक्त उनी कानुनमा पनि रूचि राख्छन् । र, उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । उनको राजनीतिक ‘बामेसराइ’ नेपाल विद्यार्थी संघबाट प्रारम्भ भएको हो । ०२७ सालमा कांग्रेसको भ्रातृ संस्था नेविसंघ गठन भयो र देउवा त्यसको संस्थापक सदस्य हुँदै सभापतिसमेत बने । त्यसयता उनी राजनीतिमा निरन्तर रहेका छन् । कांग्रेस पार्टीभित्र तीक्ष्ण, अब्बल र कूटिल नेताका रूपमा दरिएका देउवा नेविसंघ गठन हुनुपूर्व ०२० देखि ०२३ सालसम्म सुदूरपश्चिम विद्यार्थी युनियन, काठमाडौंको अध्यक्ष थिए ।
०३६ सालसम्म नेविसंघको अध्यक्षकै रूपमा रहेर उनले विद्यार्थी आन्दोलनको नेतृत्व गरे । मुलुकमा एकतन्त्रीय, निरंकुश पञ्चायती व्यवस्था लादिएको थियो । जनअधिकार कुण्ठित थिए । दलहरू प्रतिबन्धित थिए । जनताको सार्वभौमसत्ता, बाँच्न पाउने अधिकार दरबारमा कैद थियो । मुक्तिको राँको बोकर हिँडेका देउवा तत्पश्चात बहुदलीय व्यवस्था प्राप्तिमा सडक आन्दोलनको नेतृत्व गर्न थाले । ०३६ साल जनमतसंग्रहको समयमा बहुदलीय प्रजातन्त्रको पक्षमा सक्रिय थिए ।तिनैताक कांग्रेसका नेता बिपी कोइरालाले उनलाई ‘शेरे पश्चिम’ भनेका थिए । त्यस्तै ०४१ सालमा भद्र अवज्ञा आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह पनि गरे । ०३८ देखि ०५४ सम्म कांग्रेसको केन्द्रीय राजनीतिक सल्लाहकार समितिको संयोजकत्वको भूमिका निर्वाह गरेका उनले ०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाको लागि सुरू भएको आन्दोलनको क्रममा उनले बेलायतबाट पश्चिमी मुलुकको सद्भाव जुटाउने काम गरे । ०४७ सालमा कांग्रेस सुदूपश्चिमको राजनीतिक इन्चार्ज भए ।
देउवा ०४८ देखि ०५१ कात्तिकसम्म कांग्रेसको तर्फबाट डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । त्यस्तै मंसिर ०४८ देखि ०५१ भदौसम्म कांग्रेस नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भए । ०५२ भदौदेखि ०५३ फागुनसम्म देउवा संयुक्त सरकारको प्रधानमन्त्री भए । ०५४ फागुनदेखि ०५५ सम्म संसद् सदस्य देउवा पार्टी केन्द्रमा पनि रहे । त्यसबखत उनी केन्द्रीय सदस्य थिए । ०५१ कात्तिकदेखि ५२ भदौसम्म उनी कांग्रेस संसदीय समितिको सदस्य पनि भए । देउवा ०४८ सालको निर्वाचनदेखि ०७० सालसम्म लगातार डडेलधुराबाट चुनाव जित्ने नेता पनि हुन् ।  उनी सानैदेखि विद्रोही थिए । र उनको हठी चरित्र थियो । पार्टीभित्र सुस्पष्ट विचार राख्ने र मतको कदर नभए उनी तत्कालै प्रतिवाद गर्ने नेतामा पर्छन् । ०५९ भदौमा पार्टी फुटाएर आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गरे । कांग्रेसको सभापति रहँदा पनि उनलाई पार्टी विभाजन गरेको आरोप भने लागिरहेको छ । देउवा ०५८ साउनदेखि १८ असोज ०५९ सम्म नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भए । त्यही बेला उनले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गर्न पुगे ।

राजनीतिक अकर्मण्यता, दाउपेचको सिकार मुलुक भइरहेको थियो । १९ जेठ ०५८ को दरबार हत्याकाण्ड र राजा वीरेन्द्रको वंश विनाशपछि राजगद्दीमा आसीन भएका राजा ज्ञानेन्द्र उपयुक्त मौकाको प्रतीक्षामा थिए । राजाको चालमा फसेका देउवाले पहिले प्रतिनिधि सभा विघटन गरे र त्यसपछि कांग्रेस विभाजन गरी कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर, १८ असोज ०५९ को कदममार्फत देउवालाई प्रधानमन्त्रीबाट अपदस्थ गरे । केही समय मुलुकमा आन्दोलन चर्कियो । प्रतिगमन सच्याइएको भन्दै पुनः २१ जेठ ०६१ मा देउवा एमाले सम्मिलित संयुक्त सरकारको नेतृत्व गर्दै १९ माघ ०६१ सम्म नेपालको प्रधानमन्त्रीमा रहे । माघ १९ को शाही ‘कु’ मार्फत देउवा फेरि हुत्याइए । असंवैधानिक कदममार्फत राजाले सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिए । सशस्त्र संघर्षरत माओवादी र ७ राजनीतिक दलबीच १२ बुँदे सहमति भयो र ०६२÷६३ का आन्दोलनको जग तयार भयो । ०६३ वैशाख ११ गते शाही घोषणामार्फत राजाले ‘जनताको नासो जनताकै हातमा फिर्ता गरेको’ घोषणा गरे । त्यसको केही समयपछि दुवै कांग्रेसबीच एकीकरण भयो ।
मुलुकमा लोकतन्त्रको स्थापना भयो । देउवा ०६३ वैशाखदेखि ०६४ असोजसम्म पार्टीको संसदीय दलको नेतामा चुनिए । उनले ०६५ जेठदेखि ०६९ सम्म सोसलिस्ट इन्टरनेसनलका उपसभापतिको जिम्मेवारी सम्हालेका छन् । २३ फागुन ०७२ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनबाट उनी सभापतिमा निर्वाचित भए । त्यसअघि उनी १२औँ महाधिवेशनमा पनि सभापतिका प्रत्याशी थिए तर सुशील कोइरालासँग पराजित हुन पुगे । ०२१ देखि ०६१ सम्म गरी उनले पटकपटक जेल जीवन भोगेका छन् । अमानवीय यातना भोगेका छन् । जेलभित्रकै यातनाका कारण जिब्रोमा समस्या छ । विभिन्न कालखण्डमा राजनीतिक विचारका कारण जेल चलान भएका देउवा जेलमा भएकै बेला मुलुकमा १२ बुँदे सहमति भएको हो ।
देउवा प्रधानमन्त्री भएको बेला अथवा राजनीतिको विभिन्न तह र तप्कामा रहेका बेला विभिन्न देश भ्रमण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेका छन् । उनले हालसम्म बेलायत, संयुक्त राज्य अमेरिका, भुटान, माल्दिभ्स, भारत, चीन, श्रीलंका, थाइल्यान्ड, जापान, जर्मनी, फ्रान्स, नर्वे, कोलम्बो, स्वीडेन, बेल्जियम, कतार, स्विटजरल्याड, अस्टे«लिया, दक्षिण कोरिया र ग्रिसआदि देशका भ्रमण गरेका छन् ।

समर्थनमा ३८८, विपक्षमा १७०
संसद्ले मंगलबार नेपालको ४०औँ प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ ।  संसद्को मंगलबारको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले तीन सय सय ८८ मत प्राप्त गरी निर्वाचित बनेका हुन् । उनको विपक्षमा एक सय ७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो ।
हाल संसद्मा कायम कुल पाँच सय ९३ सांसद रहेकामा मंगलबारको मतदानमा पाँच सय ५८ ले भाग लिएका थिए । ‘सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव प्रस्तुत गरेका हुन् । माओवादी केन्द्र र कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा संयुक्तलगायत दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए । प्रधानमन्त्रीमा विजयी घोषणासँगै सभापति देउवालाई सभामुख ओनसरी घर्ती र सांसद्हरूले बधाई दिएका थिए ।

प्रतिक्रिया