हवाई टिकट नपाएपछि हुम्लावासीले गरे उडान अवरुद्ध

हुम्ला २२ जेठ । हुम्लाको सिमकोट विमानस्थलहुँदै हुने उडानको लागि टिकट नपाए पछि स्थानीय बासिन्दाले यहाँको सम्पूर्ण उडान अवरुद्ध गरेका छन् । निजी कम्पनीका विमानले बढी पैसा पाउने लोभमा भारतीय र अन्य पर्यटकलाई मात्र टिकट दिने गरेको र स्थानीय बिरामीलाई पनि बोक्न छोडेको भन्दै स्थानीयले उडान अवरोध गरेका हुन् । स्थानीयले उडानमा अवरोध पु¥याएपछि निजी कम्पनीका ६ वटा विमान सिमकोट विमानस्थलमा अलपत्र परेका छन् । समस्या समाधानका लागि विमानस्थल प्रशासन र निजी विमान कम्पनीका प्रतिनिधिसँग वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेको स्थानीयको भनाइ छ ।

शुक्रबार दिनभर वार्ता गरिए पनि निष्कर्षमा पुग्न नसकेको स्थानीय प्रशासनले जनाएको छ । हुम्लाको सिमकोट बजारमा विमानहरूले ढुवानी गर्न नमान्दा खाद्यान्नको चरम अभाव भएको छ ।खाद्यान्नलगायत दैनिक उपभोग्य सामान सुर्खेत र नेपालगञ्जमा अलपत्र छन् । नेपाली सेनाको कार्गो विमान मंगलबार दुर्घटना भएपछि सामान ढुवानी ठप्प भएको र खाद्यान्न अभाव भएको छ । सिमकोट विमानस्थलमा गोमा, सीता, मकालु र रारालगायत निजी कम्पनीका गरी दैनिक नौ वटा उडान हुँदै आएको छ । सिमकोटमा नेपाल वायुसेवा निमगले सातामा एकपटक मात्रै उडान भर्ने गरेको छ ।

प्रतिक्रिया