नमुना मतदानमै अलमलिए मतदाता

namuna matdanखोटाङ १९ जेठ । स्थानीय तहको दोस्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । गाउँगाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको भए पनि अपेक्षितरूपमा प्रभावकारी बन्न नसकेको हो ।  जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भए पनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ । ४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।  नमुना मतदानमा सहभागी ज्येष्ठ नागरिक मतपत्र लामो भएका कारण मतहाल्ने क्रममा अलमलमा परेका थिए । अलमलमा परेका सहभागीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, पर्यवेक्षकलगायतसँग जानकारी लिएपछि मात्र नमुना मतदानमा सहभागी भएका थिए ।
कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको पाइएको छ । गोप्य कोठामा गएर स्वस्तिक चिन्ह मसीमा चोप्न नजानेर मत हालेको ठाउँमा स्वस्तिक चिन्ह नदेखिँदा दोहो¥याएर छाप हाल्ने गरेको देखिएको छ । मतदाता मतपत्र पट्याएर मतपेटिकामा खसाउने क्रममा समेत अलमलमा परेका थिए । नमुना मतदानमा देखिएको अलमलले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ । जिल्लामा गत १ वैशाखदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम १२ वैशाखदेखि स्थगित गरेर पुनः ५ जेठदेखि सञ्चालन गरिएको छ । एक सय ७३ मतदान केन्द्र रहेको जिल्लामा स्थानीय तहको निर्वाचनका लागि एक सय ७५ जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया