शिशु जन्माएर फाल्ने युवती पक्राउ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सल्लेरी , १७ जेठ । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् ।

सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मंगलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु (छोरी)लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

महिलाले प्लास्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाअनुसार प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको थियो ।

कक्षा ११ मा अध्ययन गरी सल्लेरीमा डेरा गरी बस्दै आएकी राईलाई मंगलबार साँझ डेराबाटै पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानमा घटनामा आफू संलग्न रहेको स्वीकार गरेको डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । शिशु कस्को हो र किन यस्तो घटना भयो भन्नेबारे थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।

यस्तै, २८ र २९ मंसिर २०७२मा पनि सदरमुकाममै दुई शिशुको शव भेटिएको थियो । डेढ वर्ष बितिसक्दा पनि उक्त घटनामा संलग्न दोषी पत्ता लगाउन नसकेको प्रहरीले मंगलबारको घटनामा संलग्नलाई भने २४ घन्टा नबित्दै नियन्त्रणमा लिन सफल भएको छ ।

प्रतिक्रिया