‘आइएस’ लडाकालाई आत्मसमर्पण गर्न आह्वान

फिलिपिन्स । फिलिपिन्सको दक्षिणी सहरको केही भाग कब्जा गरेका इस्लामिस्ट आतंककारी समूहलाई फिलिपिन्सका अधिकारीले मंगलबार आत्मसमर्पण गर्न आह्वान गरेका छन् । सो सहरमा इस्लामिक स्टेट्स र सरकारी सुरक्षाबलबीच जारी भिडन्तको कारण फसेका सर्वसधारणको लागि सो आग्रह गरिएको अधिकारीहरूले बताएका छन् । ‘हामीले उनीहरूलाई आन्तरिकरूपमा आत्मसमर्पणको मौका दिइरहेका छौँ, उनीहरूलाई अझै पनि आत्मसमर्पणको मौका बाँकी रहेको छ’ सैनिक प्रवक्ता विग्रडिएर–जनरल रेस्टिटुटो पाडिल्लाले डिजेडबिबि रेडियोलाई बताएका छन् ।आतंककारीले यदि सो कार्य गरेको खण्डमा थप व्यक्ति यस द्वन्द्वमा नतानिने र थप भवन क्षतिग्रस्त नहुने पडिल्लाले बताएका छन् ।
त्यसैगरी गत हप्तादेखि सुरु भएको यस द्वन्द्वको कारण मरावीमा रहेको दुई वटा जेलबाट सयभन्दा बढी कैदी भागेका छन र भागेका मध्ये केहीले जारी द्वन्द्वमा सहभागी भएका बताइएको छ । फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजारभन्दा बढी सर्वसाधारण फसी ररहेका सोमबार नै प्रकाशित समाचारहरूमा जनाइएको थियो । दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेपछि राष्ट्रपति रोड्गिो डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा संकटकालको घोषणा गरेका थिए ।
यसलगत्तै उनले त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गरे पनि आइएस आतंककारीले जारी राखेको द्वन्द्वमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतंककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित सयभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन । गत हप्तादेखि जारी यस भिन्डतमा १७ सुरक्षा अधिकारी, ६१ जना आतंककारी र १९ जना सर्वसाधारणको मृत्यु भइरहेको छ । यस द्वन्द्व सुरु भएयता १४ जना सर्वसाधारण अपहरणमा परेका पनि बताइएको छ ।
राष्ट्रपति रोड्गिो डुटेर्टे, केही मन्त्रिगण तथा उच्च पदस्थ अधिकारी रसियाको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए । आफ्नो समूहलाई विश्वको कुख्यात आतंककारी संगठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः माउतेले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारी नभएको मौका छोपी इस्लामी बहुल क्षेत्र मरावी नगरमा गत मंगलबार एक्कासि आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए ।
आतंककारी आक्रमण र सुरक्षाकर्मी एवं अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्केका थिए । उनले स्वदेश फर्किरहेको विमानबाटै संकटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गरेका थिए ।राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानुन लागू गरिएको र स्थितिपूर्ण नियन्त्रणमा नआएमा वा आवश्यक परेमा संविधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक वर्षसम्म पनि सैनिक कानुन लागू गर्न सकिने जनाएका थिए ।

प्रतिक्रिया