अधिकांश मतदान केन्द्र ‘संवेदनशील’

झापा १७ जेठ । प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले ‘संवेदनशील’ मानेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण गरिएको छ । झापामा कुल मतदान स्थान दुई सय ८३ छन् । तिनमा ६ सय ५५ मतदान केन्द्र प्रस्तावित गरिएका छन् । तीमध्ये एक सय २७ केन्द्रलाई अति संवेदनशील र पाँच सय एक केन्द्रलाई संवेदनशील भनिएको छ । २७ मतदान केन्द्रलाई मात्र सामान्य मानिएको छ ।
डिएसपी हरि शर्माले सीमा क्षेत्र र विगतमा अवाञ्छित गतिविधि भएका आधारमा झापाका मतदान केन्द्र सुरक्षाका दृष्टिले वर्गीकरण गर्दा बढी संवेदनशील देखिएको बताए । ‘बोर्डर एरिया भएकाले अधिकांश मतदान केन्द्र संवेदनशील देखिए पनि अन्य तराईका जिल्लाको तुलनामा झापा जिल्लाको अवस्था हालसम्म सामान्य छ’ शर्मा भन्छन् । संवेदनशीलताका आधारमा चुनावमा सुरक्षाकर्मीको परिचालन हुने शर्माको भनाइ छ ।

उनले चुनावका लागि भनेर सैनिक मुख्यालयबाट मंगलबार बिहान मात्र थप चार सय सुरक्षाकर्मी आइसकेको बताए । चुनाव हुन एक साताअघिसम्म थप सुरक्षा बल झापा आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया