पहिलो सिजनमै कोन्टेको सफलता

conte ko safalata

एजेन्सी । इटालियन ४७ वर्षीय एन्टोनियो कोन्टेका लागि पहिलो सिजनमा नै लिगको उपाधि जित्नु ठूलो सफलता हो । कोन्टेको रणनीतिक तथा खेलाडीको राम्रो प्रयोगले चेल्सी इंग्लिस फुटबलको च्याम्पियन बनेको फुटबलका विश्लेषकको धारणा रहेको छ । सन् २०१४–१५ मा उपाधि दिलाएका प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेर चेल्सीले कोन्टेलाई नियुक्त गरेको थियो । कोन्टे युरोकप २०१६ को अन्त्यसँगै इटालीको प्रशिक्षकबाट छोडेर चेल्सीको प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हाल्न आएका थिए ।

उपाधि जितेपछि कोन्टेले दोहोरो उपाधिले चेल्सीको यो सिजनलाई फेन्टास्टिक बनाउने बताएका थिए । कोन्टेले चेल्सीको उत्कृष्ट सिजनलाई एफए कपको पनि उपाधि जित्न सके फेन्टास्टिक बनाउने बताएका हुन् । कोन्टेले भने ‘इंग्ल्यान्डमा मेरो यो पहिलो उपाधि हो, यो सफलताका लागि म निकै खुशी छु ।’ उपाधि जिते पनि खुशीयाली मनाउनका लागि लिगका अझै दुई खेल जित्नु पर्ने उनले बताए । उनले भने ‘खेलाडीले राम्रो व्यावसायिक चरित्र प्रदर्शन गरे ।
जारी सिजनको लिगमा चेल्सीले केही अपत्यारिलो नतिजा आत्मसात गर्दा ठूलो हारसमेत व्यहो¥यो । जसमा चेल्सीले लिगमा एभर्टनमाथि ५–० को जित सबैभन्दा फराकिलो जित निकाल्यो । तर आर्सनलसँगको ३–० को हार व्यहोर्दै चेल्सीले खराब नतिजा पनि व्यहोरेको थियो । चेल्सीले उपाधि जित्दा केही खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । चेल्सीलाई उपाधि दिलाउने क्रममा डिएगो कोस्टाले २० गोल गरे । उनी प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन् ।
बेल्जियमका स्टार इडन हजार्डले उत्कृष्ट प्रदर्शन गर्दै १५ गोल गर्दा महत्वपूर्ण एसिस्टसमेत गरे । जसमा स्पेनिस स्टार पेड्रोले ९ गोल र ब्राजिलियन विलियनले सात गोल गर्दै कयौँपटक चेल्सीलाई अगाडि बढाए । ग्यारी काहिल र मार्कस एलोन्सोले समान ६ गोल गरेका छन् । चेल्सीले अहिलेसम्म ७६ गोल गरेको छ भने २९ गोल मात्रै खाएको छ । जसको काराण चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो ।

प्रतिक्रिया