माछापालनका लागि अनुदान

tarai-farmers-like-fisheries-more-than-growing-crops-600x0

चितवन । जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै ४ करोड रुपैयाँ अनुदान दिन लागिएको हो । कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार जिल्लामा कुल १ सय २० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरूप दिन लागिएको हो । विशेषगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा ब्लक निर्माणका लागि चितवनमा ९५ हेक्टर क्षेत्रफल विस्तार गर्ने कार्यक्रम छ । चितवनको माडी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा यो कार्यक्रम लागू गरी माछापालनका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । यस्तै ५ हेक्टरमा नर्सरी पोखरी व्यवस्थापन तथा २० हेक्टरमा माछा उत्पादन विशेष कार्यक्रम सञ्चालन गरिएको यादवले जानकारी दिए ।

प्रतिहेक्टर ३ लाखका दरले अनुदान दिइने र माछाको नर्सरी व्यवस्थापनका लागि प्रतिहेक्टर २ लाख थप अनुदान दिइने सो कार्यालयले जनाएको छ । यस्तै संकलन केन्द्र र माछाका लागि पानी व्यवस्थापन गर्न २५ लाख तथा उपकरण खरिदका लागि २० लाख रुपैयाँ अनुदानका कार्यक्रम आएको मत्स्य विकास अधिकृत यादवले जानकारी दिए । ती अनुदानको रकम प्राप्त गर्नका लागि किसानलाई ५० प्रतिशत रकम लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । जिल्लामा अहिले ५ सय ३९ हेक्टर जलाशयमा माछापालन भइरहेको छ ।

त्यसबाट वार्षिक २ हजार २ सय मेट्रिक टन माछा उत्सादन हुँदै आएको छ । जिल्लामा अहिले परियोजनामार्फत माछा, तरकारी र अन्न उत्पादनका लागि नयाँ कार्यक्रम आएको कृषि विकास कार्यालय चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले बताए । उता जिल्लाको पश्चिम क्षेत्रमा तरकारी जोन निर्माणका लागि कार्यक्रम लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया