चाउचाउ उद्योग सञ्चालनमा

तिलोत्तमा । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित मधौलियमा यशोदा फुड्स प्रालि उद्योगले चाउचाउ र चिजबल्स उत्पादन सुरु गरेको छ । दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रमा व्यापार विस्तार गर्ने योजनासहित अगाडि बढेको सो उद्योगबाट लाली, करेन्ट, जुप्पी नामक चाउचाउ उत्पादन भइरहेको जनाएको छ । १ अर्ब लगानीमा सञ्चालित उक्त उद्योगबाट ७ घन्टामा १० टन चाउचाउ उत्पादन हुने गरेको दाबी उद्योग सञ्चालक चुन्नुप्रसाद पोडेलले जानकारी दिए ।

सोे उद्योगमा प्रत्यक्ष रूपमा ३ सय ५० जना र अप्रत्यक्ष रूपमा १ हजार २ सय २५ जनाले रोजगारी पाएका छन् । स्वदेशी तथा भारत, चीन र सिंगापुरबाट कच्चापदार्थ मगाएर चाउचाउ उत्पादन थालिएको सो उद्योगले जनाएको छ । सोना प्योकिजन इन्डस्ट्रिज, सोना पोलिमर्स, श्रीराम टोबाको उद्योग प्रालि र त्रिमूर्ति इन्डस्ट्रिज प्रालि (करेन्ट मसला) स्थापना गरिसकेको सो प्रतिष्ठानबाट उत्पादित चाउचाउ सार्क राष्ट्रसहित खाडीमुलुकमा समेत निर्यात गर्ने जनाएको छ । उद्योगी चुन्न पौडेल, कमल पालपानी र ऋषि भण्डारीको संयुक्त लगानीमा सो उद्योग स्थापना भएका हुन् । नेपालमा अहिलेसम्म १४ वटा चाउचाउ उद्योग स्थापना भएका छन् । तीमध्ये ७ वटा उद्योग मात्र सञ्चालनमा छन् ।

प्रतिक्रिया