पूर्वी नाकाबाट पनि पर्यटक आगमनमा वृद्धि

tourist enter nepal through jhapa boarder

झापा । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको संख्या पनि वृद्धि भएको छ । गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक यो नाकाबाट नेपाल भित्रिएकामा यसवर्षको सोही अवधिमा ३ हजार ६ सय पर्यटक भित्रिएको काँकडभिट्टास्थित पर्यटन कार्यालयले जनाएको छ ।गतवर्षको तुलनमा यसवर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ भन्दै कार्यालय प्रमुख गणेशप्रसाद तिम्सिनाले विनाशकारी भूकम्प गएपछि क्रमशः पर्यटकको आगमन घटदै गएकामा त्यसमा क्रमिक सुधार हुँदै आएको जानकारी दिए ।
सन् २०१६ मा काँकडभिट्टा नाका हुँदै ६ हजार २ सय ५ जना पर्यटक भित्रिएका थिए । जसमा सबैैभन्दा बढी २ हजार ४ सय बंगाली, ७ सय ३१ अमेरिकी र विभिन्न मुलुकका २ हजार ८ सय ७४ पर्यटक थिए । तुलनात्मकरूपमा हेर्ने हो भने गतवर्षभन्दा यसवर्ष यो नाकाबाट पर्यटक आगमनमा ५० प्रतिशत वृद्धि हुने देखिन्छ । त्यस्तै, पर्यटन कार्यालयमा हालसम्म २० वटा होमस्टे दर्ता भएकामा इलाममा १०, झापामा १, मोरङमा १, सुनसरीमा ३, धनकुटामा १ र संखुवासभामा ४ वटा होमस्टे रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । यसैगरी ७४ वटा ट्राभल्स एजेन्सी र २३ वटा होटल दर्ता रहेको कार्यालयका अभयकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया