भनिन्छ सबैभन्दा साह्रो ढुंगा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर, आकाशको जून झारिदिने सपना देखाएका पे्रमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक (कटुवाल) विनायोजना र तयारी वैदेशिक रोजगारीमा कुवेत पुगिन् तर फिर्ने बेला भने रितो हात लिएर आइन् ।
जानेबेला उनीसँग न त भाषाको ज्ञान थियो । न कुनै तालिम र सीप नै हातमा थियो । जीवनभरि सँगै जिउने प्रतिज्ञा गरेको आफ्नै पतिदेवले राक्षसी रूप देखाएपछि दुर्गाका लागि आफ्नोे भन्ने संसारमा कोही नभएको महसुस भयो । आफँैले रोजेर उपल्लो जातको केटासँग गएका कारण माइती र आफन्तजनमा पनि दुर्गालाई हेर्ने दृष्टिकोण सच्चिन सकेको थिएन । छोरीले आफ्नै ढंगले दुःख पाई भन्ने बाबुआमाको बुझाइ थियो । १५ र १३ वर्षका दुई जना छोरा भए पनि उनीहरू आमालाई न्याय दिलाउन सक्ने भइसकेका थिएनन् ।
गाउँकै साहुसँग ४५ हजार ऋण काढेर उनी ०६५ साल असारमा भारतको मुम्बईबाट कुवेत पुगिन् । त्यो पनि निक्कै कष्टका साथ । तर, उनको पैसा कमाउने सपना पानीको फोका झैँ बन्यो । केटाकेटी स्याहार्ने कामका लागि कुवेत पुगेकी दुर्गा भन्छिन्, ‘२२ दिन बसेँ, काम सजिलै थियो, तर पैसाको अनुहार देख्न पाइएन । खान पेटभरि पाइन ।’ भाषा नबुझेपछि जहिल्यै गाली गरेजस्तो मात्र लाग्यो, उनले भनिन् । बिहानले दिनभरको संकेत दिन्छ भने झैँ दुर्गाले कुवेतमा पैसा कमाउने आशा मारेर र आफ्नै देशमा पाखुरा बजार्ने दृढ संकल्प गरिन् । तर, अमिरको घरबाट निस्केर हिँड्न झनै गाह्रो थियो । बजार जाने बहाना बनाएर उनी आफ्नो झिटीझाम्टी सबै छोडेर नेपाल फर्कनु प¥यो । मात्र एकसरो लुगामा, त्यो पनि कहिल्यै पेटभरि खान नपाई ।
दुर्गा त प्रतिनिधि पात्र मात्र हुन् । दुर्गाजस्ता धेरै आमा गरिबी, घरेलु हिंसा र पारिवारिक अपमान लुकाउन वैदेशिक रोजगारमा जाने गरेका छन् । तर सीप, तालिम र भाषाको ज्ञान नहुँदा झनै ठूलो पीडाको भारी बोकेर स्वदेश फर्किरहेका छन् उनीहरू ।
०६६ साल साउनमा मोरङको केरौन–६ की कल्पना ओझा पनि झोलाभरि पैसा बोकेर आउने सपना लिएर लेबनान गइन् । तीन महिनामा एक रुपैयाँ पनि कमाई नभएपछि कल्पनाको सपना तासको महल झैँ ढल्यो । साहुले रोगी र काम गर्न नसक्ने भन्दै निकालिदियो । त्यसपछि अर्को घरमा सरेको बताउँदै कल्पना भन्छिन्, ‘मलाई रक्तस्राव भयो । २८ दिनसम्म उपचार पनि गरायो । निको भएपछि उसले पनि घरमा नराख्ने भयो ।’ अर्काको देश, न भाषा बुझ्नु, न भेषमा मिल्नु, वैदेशिक रोजगार नै घाँडो भयो कल्पनालाई । स्वदेश फर्कन पाए गिट्टी कुटेर खाने हिम्मत पलायो उनीमा । खाडी राष्ट्रमा भारतीय बाटो गरेर अवैधरूपमा पुगेका महिलालाई घर फर्कने कानुनी प्रक्रिया अप्ठ्यारो छ । उनी १८ दिनसम्म जसले लगेको हो उसैको त्यहाँको सम्पर्क कार्यालयमा बसिन् पाउरोटी र पानीको भरमा । कार्यालयमा धेरै जिद्दी गरेपछि उनी नेपाल त फर्किन तर रितो हात झनै ठूलो ऋण बोकेर । नेपाल फर्किंदा उनलाई एक लाख रुपैयाँ ऋण लागिसकेको रहेछ ।
प्रतिक्रिया