देशमा राजनीतिक उथलपुथल हुँदै थियो, त्यो समय त्यो माहोल सिंगो देश नै लोकतान्त्रिक आन्दोलनमा होमिएको थियो । राजनीतिक दल तिनका कार्यकर्ता, के वृद्ध के महिला के पेसाकर्मी सबै आमजनमानस आन्दोलनमा लामबद्ध भए । आन्दोलन–जनआन्दोलन बन्यो र अन्ततः राजतन्त्रको विधिवत अन्त्य भयो । देशको मूल समस्या नै राजतन्त्र हो देशमा लोकतन्त्र आएपछि देशले छलाङ मार्छ भनेर दल र नेताले सबैलाई बुझाए, राजा त गए तर अरु धेरै राजाहरू जन्मिन थाले । नेताहरूले फेरि बोली फेरे अनि भन्न थाले अब संविधानसभाको चुनावपश्चात देशले नयाँ मोड लिन्छ, संविधानसभाको चुनाव पनि भयो तर जनताले भनेको जस्तो केही भएन ? फेरि भन्न थालियो अहिले देश संक्रमण कालमा छ, दुई वर्ष भित्रमा संविधान जारी हुन्छ अनि छु मन्तर देश विकासको गतिमा अगाडि बढ्छ ।
पहिलो संविधानसभाले दुई वर्ष भित्रमा संविधान घोषणा गर्नुपर्ने ठाउँमा फेरि अर्को दुई वर्ष समय थप्दा पनि संविधान जारी नगरी सविधानसभा नै भंग हुन पुग्यो । त्यतिबेला सविधानसभा मात्र होइन आमजनताको संविधानसभा र लोकतन्त्र प्राप्तीका लागि गरेको त्याग, मिहिनेत, बगाएको रगत, सहिदका सपना र समुन्नत नेपालको सपना एकै साथ भंग भए । अनि फेरि बन्द हड्ताल, यो वा त्यो नाममा विभिन्न पार्टी संगठनले आन्दोलन सुरु गर्न थाले । स्वतन्त्रपूर्वक आफ्नो जीविकोपार्जन गर्ने, कामधन्दा गर्ने, पढ्ने वातावरण बिग्रिन थाल्यो अनि क्रमशः सबैमा निराशा र राजनीतिक दलप्रति वितृष्णा बढ्न थाल्यो, त्यसको पहिलो सिकार बन्न पुग्यो युवापुस्ता । न देश विकसित बन्यो न त देशमा पसिना बगाएर बाँच्ने वातावरण बन्यो अनि सुरु भयो पलायनको डरलाग्दो शृंखला । फरक वर्ग र हैसियतका मानिसका जीवनका योजना र सपना फरक हुन सक्लान् तैपनि के धनी के गरिब सबै तह र तप्काका नेपाली विदेश पलायन हुनैपर्ने बाध्यता बनेको छ मुलुकमा । चाहे घरमा दुई छाक हात मुख जोर्न गारो परेर होस्, चाहे सोचेजस्तो व्यावसायिक वातावरण नभएर होस्, चाहे अध्ययन गर्ने वातावरण नभएर होस् या सुखी जीवन बिताउने महत्वाकांक्षाले गर्दा होस् सबैको निर्विकल्प विकल्प बनेको छ विदेश पलायन ।
हुन त आफ्नै मुलुकमा आफ्नै जहान परिवारसँग दुःख सुख जीवनयापन गर्ने चाहना कसलाई पो नहँुदो हो र ! कसलाई आफू जन्मेको माटो अनि आफ्नै देशमा आफ्नो पसिना नबगाई विदेश भासिन रहर हुन्छ होला र तैपनि विदेश पलायनको दर यति बढेको छ कि केही गर्न सक्ने युवा सबै विदेशिएका छन् र जो स्वदेशमा छन ती पनि विदेशिने मनस्थितिमा छन् बस् सबै उचित देश र अवसरको पर्खाइमा छन् । देशको श्रम शक्ति पलायन हुनु त दुःखद कुरा हो नै, बौद्धिक पलायन पनि तीव्र गतिमा भएको छ ।
अब जो गाउँमा बाँकी छन् तिनलाई केही गर्ने हुति नभएको देख्ने बनिसकेको छ समाजको आँखा । हेमन्त रानाको ‘साइँली…’ बोलको गीतले भनेजस्तो देश जतासुकै जाला पहिला विदेश मै सही, उमेर छँदै केही कमाउन सकिएन भने बुढेसकाल लागेपछि कसरी बाँच्ने भन्ने धारणाले सबैलाई गाजेको छ । विदेश जाउँ धेरै पैसा कमाउँ, जहान परिवारलाई सुखले पालौँ, आफ्ना सन्तानलाई गतिलो शिक्षा दिउँ अनि सके घर घडेरी जोडाँै अनि बुढेसकालमा सुखले रमाउँला भन्ने हामी सबैको साझा सपना बनेको छ यति बेला ।
नेपालीमा एउटा उखान छ, ‘कि त आफू टाठो, कि बाख्रा पाठो कि त लामो बाटो ।’ टाढाबाठालाई केही गर्ने अवसर भएन, व्यवसाय गर्नलाई वातावरण भएन त्यसैले सबैभन्दा उत्तम लामो बाटो देखियो । विदेशमा कमाइ पनि आकर्षक, नेपालमा व्यवसाय सञ्चालन गर्नभन्दा सजिलो र छिट्टो भएर पनि होला अहिले आकाशको बाटो सबै बाटाभन्दा सजिलो बाटो बनेको छ । आफ्ना सबै घर व्यवहार थाती राखेर धेरै धन कमाउने, सुखसयलको जिन्दगी जिउने सपनामा आकाशको बाटो रोज्नु अपरिहार्य जस्तै बनिसकेको छ । थाहा छैन क–कसका सपना साकार हुने हुन्, को सपनासँगै हराइ जाने हुन् तैपनि लाखौँ खर्चेर, भात खाने गैरी खेत बन्धक राखेर ज्यान हत्केलामा राखी बाउबाजे कोही नगएको मुग्लान जानै पर्ने हामी नेपालीको नियती बनेको छ । कहिलेकाहीँ त यस्तो लाग्छ हामी विदेशीको सेवा गर्न नै जन्मेका हौँ कि ?
देख्नेलाई अति राम्रो, सुन्नेलाई अति राम्रो, वा ! फलानो त विदेश गएको कति चाँडो घर घडेरी जोड्यो, फलानले यति कमायो । उसले यति जोड्यो सिंगो समाज हिसाब लगाउन थाल्छ तर त्यही कमाउन फलानाले के ग¥यो त्यसको हिसाब गर्ने कसले ? विदेशमा कति गाह्रो छ त्यो सबैलाई थाहा छ र धेरैले कथा पनि लेखे, विदेशका वेदना पनि लेखे । होला विदेशबाट भित्रिएको रेमिटेन्सले देशको आर्थिक अवस्थामा टेवा त पुग्यो होला, नेपालमा जहान परिवारले मीठोमसिनो खाए होलान्, राम्रो लगाए होलान् । आफन्त तथा साथीभाइको अगाडि पनि इज्जत बढेकोजस्तो देखिने यो त फलानो देशको ग्रिनकार्ड, पिआर, रातो पासपोर्ट होल्डर मान्छे हो । नेपालबाट आफन्तलाई पनि रमाइलो छ मेरो यो नाता पर्ने यो देशमा छ । नेपालमा भएका आफन्त र साथीभाइ पैसा फल्ने रुख अनि आवश्यकता पूरा गर्ने साधनजस्तै बनिसकेको हुन्छ विदेशिएको मान्छे ।
अपूm जन्मेको देश, आफ्नो गाउँघर र परिवारसँग बिछोडिएर बाँच्नु दुःखद त छँदै छ त्यसमाथि विदेश आउने मान्छेको स्वाभिमान र आत्मसम्मान पनि बाँकी रहँदो रहेनछ । सबै आर्थिक अवस्था कमजोर भएर नेपालमा अवसर नपाएर मात्रै विदेस आएका पनि हुँदैनन् । विदेशका गल्लीमा कसलाई भन्ने म स्वाभिमानी नेपाली हँु, यहाँ कसलाई सुनाउने हामी वीर गोर्खालीका सन्तति हाँै भनेर, कसलाई के वास्ता यो फलाना मुखियाको नाति हो, यहाँ कसलाई भन्न जाने म नेपालको फलाना कम्पनीको मालिक हुँ फलाना स्कुलको मास्टर हँु । हामीसँग युरोप अमेरिकामा तत्काल काम लागिहाल्ने कुनै विशेष ज्ञान सीप पनि छैन ।
नेपालमा जे काम गरे पनि यहाँ सुरुआत जिरो लेभलबाट गर्नुको विकल्प छैन । तल्लोस्तरको काम गर्नु, विदेशीका जुठा भाँडा माझ्नु पर्दा, तिनका गाली सुन्न अनि सहन पर्दा कहिलेकाहीँ त छाती पोल्दो रहेछ, आफ्नो स्वाभिमानले कताकता गिज्यायजस्तो लाग्दोरहेछ तैपनि के गर्ने फर्किने बाटो त छ तर सहज छैन अनि फेरि कयौँ हन्डर खाएर ठाउँमा आइपुगेको मान्छे आफ्नै सपनाको मलामी त को जान चाहन्छ र ? विदेशमा दुःख समस्या त छँदै छ कहिलेकाहीँ स्वदेशमा रहेका केही आपूmलाई देशभक्त सम्झनेहरूले अवसरवादी अनि पलायनवादीको बिल्ला भिराइदिँदा मन भारी हँुदोरहेछ ।
नेपालमा बस्दैमा देशभक्त हुने र विदेश जाँदैमा पलायनवादी हुने भन्ने हँुदैन होला सायद । जो जहाँ छौ सबैले आफ्नो ठाउँबाट देश बनाउन के कति योगदान गर्न सकिन्छ त्यो बारे सोच्नु जरुरी छ । आफ्नो जीवनका ऊर्जाशील समयमा विदेशीको दास हुन मन त कसलाई पो हुन्छ र तर एउटा तीतो यथार्थ यो पक्कै हो कि त जे जस्तो प्रतिकूल परिस्थिति आए पनि स्वदेशमै संघर्ष गर्ने हिम्मत जुटाउनु प¥यो होइन भने जुन दिन हामी आफ्नो सपनाको जहाज चढेर आकाशको बाटो रोज्छाँै त्यो दिनदेखि हाम्रो स्वाभिमान र आत्मसम्मानको तिलाञ्जलीचाहिँ पक्कै दिनुपर्दो रहेछ ।
प्रतिक्रिया