काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग फिर्ताको माग गर्दै नागरिक समाजका अगुवा सडकमा उत्रिएका छन् ।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा डा. गोविन्द केसीलगायत सहभागी बुधबार बसन्तपुरमा भएको सभामा सबैले महाअभियोगको गलत प्रयोग भएको बताए । प्राडा केसीले ठूलो ग्राय्न्ड डिजाइनमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग आएको बताए । प्रजातन्त्र आएको २७ वर्ष भएपछि दलहरूमा दलीयतन्त्र मात्र संस्थागत भएको भन्दै उनले मुलुकमा देउवातन्त्र, दाहालतन्त्र र केही हदसम्म ओलीतन्त्र रहेको टिप्पणी गरे ।
कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाभियोग लगाएर कलंकको टीका लगाउने प्रयास भएको भन्दै उनले सो प्रस्ताव फिर्ता लिन माग गरे । चेतावनीपूर्ण भाषामा उनले भने, ‘म दिन नै त तोक्दिँन तर तुरुन्त उहाँको सम्मान पुनर्बहाली भएन भने सत्याग्रह (अनशन) सहितको आन्दोलन सुरु गर्छु ।’
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशमा बचेका केही संस्थामध्ये न्यायालयलाई ढाल्ने प्रयास भएको बताए । महाअभियोगविरुद्ध उत्रन आह्वान गर्दै उनले भने, ‘यदि तपार्इंहरूले विवेक धर्म छाड्नु भो भने पाप धुरीबाट कराउँछ । आज हामीलाई खाने बाघले भोली तपार्इंहरूलाई खान्छ ।’
मानवअधिकारकर्मी कृष्ण पहाडीले दलहरूले महाभियोगको दुरुपयोग गरेको बताए । फिर्ता नलिए प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले श्रापित जीवन बिताउने पर्ने भन्दै पहाडीले भने, ‘अहिले त देउवा र दाहाल दंग होलान् तर, फिर्ता लिनु भएन भने जनताले तपाईंहरूलाई महाभियोग लगाउँछन् ।’
महाभियोगविरुद्ध रिट
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सुुनिलरञ्जन सिंहले बुधबार दायर गरेको रिटमा महाभियोगसम्बन्धी सबै कारबाही रोक्न माग गरिएको छ । अदालतको फैसलालाई टेकेर महाभियोग लगाउन नसकिने भन्दै रिटमा महाधियोग लगाउने परिपक्व आधार नै नभएको उल्लेख छ । साथै अदालतलाई स्वतन्त्र काम गर्न दिनुपर्ने, अन्यथा अदालत निर्देशित न्यायालय बन्न जाने रिट निवेदकको तर्क छ । रिटको पेसी आज तोकिएको छ ।
प्रतिक्रिया