जब गौरीले हाँसो थाम्न सकिनन् …

gauri
काठमाडौं । साधु बाबाको आज्ञा शिरोपर गर्दै माता त्रिपुराको आराधना गरेपछि दुई छोरीकी आमा गौरी मल्लले छोरो जन्माइन् । सँगै रहेकी मिथिला शर्माले ‘कंग्रयाजुलेशन गौरी’ भनिन् । गौरीका ओठले हाँसो थाम्न सकेनन् । खित्का छोडेर हाँसिन् । गौरीसँगै मिथिला पनि हाँसिन् । पूरै हल हाँसोले गुञ्जियो ।
चलचित्र समीक्षक समाज (फिक्सन) ले आयोजना गरेको सन्डे सिनेमाअन्तर्गत आइतबार देखाइएको चलचित्र ‘मुकुण्डो’ निर्देशक छिरिङरितार शेर्पासँगै चलचित्रका मुख्य पात्र गौरी मल्ल र मिथिला शर्मा पनि सँगै बसेर हेरिरहेका थिए ।
‘टुटेफुटेको अंग्रेजी बोल्ने मान्छेले ‘म अमेरिकाबाट बोल्दैछु, म चलचित्र बनाउँदैछु हजुरले खेलिदिनुप¥यो’ भन्यो । कहिलेबाट सुरु हुन्छ भनेर प्रश्न गर्दा स्क्रिप्ट नेपालीमा उल्था गर्दैछु, केही समय लाग्छ भन्यो । मैले पनि हुन्छ भने’ गौरी मल्लले दुई दशक अगाडि निर्देशक छिरिङले मुकुन्डोको लागि गरेको प्रस्ताव सम्झँदै भनिन्, ‘त्यस अगाडि करिब एक वर्ष अगाडि नै सन्तोष भन्ने छिरिङजीको मान्छेले यस्तै भनेर फोन गरेको थियो । एक वर्ष बितिसकेकाले मैले उहाँको कुरालाई गम्भीर रूपमा लिएको थिइनँ ।’
‘मुकुण्डो’ मा गौरी बिरामी महिलाको चरित्रमा छिन् । उनलाई सुरुमा अहिले मिथिलाले अभिनय गरेको चरित्र माताको रूपमा अभिनय गर्न भनिएको थियो । तर, पछि मात्रै उनलाई बिरामीको पात्रमा अभिनय गर्न भनिएको थियो ।
बलिउड फर्मुलामा चलचित्र बनिरहेका थिए । त्यस्तै चलचित्रमा मिथिलाले पनि अभिनय गरिरहेकी थिइन् । छिरिङले भनेका थिए, ‘मेरो चलचित्र अरुको भन्दा फरक छ । तपाईंले अभिनय गरिदिनु प¥यो । उनले त्यसअगाडि नै छिरिङले बनाएको डकुमेन्ट्रीबारे थाहा पाएकी थिइन् ।’ त्यसैले मलाई भने विश्वास थियो’, उनले भनिन् ।
गौरीले विश्वास नै नगरेको चलचित्र बन्यो । त्यो पनि फरक धारको । भारतमा नसुरुद्धिन शाहले पनि बेलाबेलामा बनाउने जस्तै । भूमिका फरक थियो । निर्देशक फरक थिए त्यो भन्दा पनि फरक त कथा थियो माताको ।
‘सोच्दै नसोचेको चलचित्र बन्यो । हाम्रो त पखेटा उम्रिएजस्तो भयो । मिथिला मिस र म हावामा पंक्षीझैं उडिरहेका थियौ’, गौरीले भनिन्, ‘पछि नेपालबाट पहिलोपटक अन्तर्राष्ट्रिय फेस्टिबलमा जाने चलचित्र नै यही बन्यो । हामीलाई विदेशमा चिनाउने चलचित्र पनि यही नै बन्यो ।’ ‘मैले चलचित्र पढेको थिएँ । केही नयाँ गरौं भन्ने लागिरहेको थियो । त्यही बेला मैतीदेवीमा एउटा घटना घट्यो । माताले नै आफ्नोमा आइपुगेकी बिरामीलाई मारेको कुरा समाचारमा आयो’, निर्देशक शेर्पाले भने, ‘मलाई त्यो घटनाले छोयो । ६ महिना त्यही घटनाबारे अनुसन्धान गरें । र, ‘मुकुन्डो’ बनाएको हुँ ।’
चलचित्र निर्माण सम्पन्न भयो । विदेशमा चलचित्रले राम्रो समीक्षा बटुल्यो । तर, नेपालमा भने हलले चलाउनै मानेनन् । जम्मा एउटा हलमा लाग्यो । दुई हप्ताभन्दा धेरै चलेन । लगानी पनि उठेन ।’
गौरीले भनिन्, ‘छिरिङजीले नेपाली मौलिक विषयमा चलचित्र बनाउनुभयो । चलचित्र नेपालमा हेरिएन । त्यही भएर एक दिन उहाँले मलाई भन्नुभयो, यहाँ कमेडी चलचित्र बनाउनु पर्नेरहेछ ।’
मौलिक विषयमा चलचित्र बन्दैनथे । समीक्षक तथा पत्रकारले सधैंयस्तै विषय उठाइरहन्थे । ‘मलाई सधैं पत्रकारले मौलिक चलचित्र किन बन्दैनन् नेपालमा ? भनेर सोध्नुहुन्थ्यो,’ गौरी २० वर्ष अगाडितर्फ लागिन्, ‘मैले पछिसम्म यो मौलिक चलचित्र भनेको के रहेछ भनेर बुझिनँ । निर्देशक र निर्मातालाई सोध्यो भने नेपालको आफ्नै चलचित्र भन्थे । लोकगीत राखेर फरिया लाएर नाचेपछि त्यही हो मौलिक चलचित्र भन्थे ।’
चलचित्रमा सामाजिक रुढीवाद र त्यसबाट सिर्जित परिस्थितिले गीता (मिथिला शर्मा) माता बनाइन्छिन् । परम्परागत विश्वासकै उपज सरस्वती (गौरी मल्ल) उपचारका लागि उनकोमा पुग्छिन् । पूर्व खेलाडी दिनेश (रतन सुवेदी) सरस्वतीका श्रीमान् हुन्छन् । उनी खाइलाग्दो ज्यानका हुन्छन् । उनलाई देखेर गीताको मन लोभिन्छ र उनी विस्तारै सरस्वतीलाई पन्छाएर दिनेशलाई आफ्नो पार्न खोज्छिन् । यसैक्रममा एकदिन उपचारका लागि आफ्नोमा आइपुगेकी सरस्वतीको ज्यान लिन्छिन् ।
‘चरित्रमा डुबेर अभिनय गरेको थिएँ । म कति दिनसम्म साँच्चै नै बिरामी छु भन्ने सोच्दासोच्दै बिरामी नै भएकी थिएँ,’ गौरीले सम्झिइन् ।
‘एक दिन बिहानै गौरीले फोन गरेर ‘मिथिला मिस मेरो त कपाल नै उखेलदिनुभयो नि दुखिरहेको छ’ भनेर भनिन् । मैले पनि उनलाई भनेँ, मेरो बाथरुममा पनि कपाल नै कपाल देखिरहेको छु । तिमीले पनि कम उखेलेकी छैनौं’ भने ।’ गौरी र मिथिला दुवै जना खित्का छोडेर हाँसे ।

प्रतिक्रिया