महँगियो साबुन

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टी (भाजपा) बाट योगी आदित्यनाथ मूख्यमन्त्री चयन भएसँगै नेपालमा लुगाधुने साबुनको मूल्य बढेको छ । नांगो र खोल भएको दुबै साबुनको भाउ बढेको हो ।उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले जथाभावी गरिने पशुवधमा अंकुश लगाएका छन् । साबुन उत्पादनमा प्रयोग हुने कच्चा तेल पशुको बोसोबाट तयार हुन्छ । पशुवधमा अंकुशपछि तेलको उत्पादन घटेको छ । तेलको उत्पादनमा आएको कमीका कारण लुगा धुने साबुनको मूल्य बढेको पूजा सपका बिक्री विभाग प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए ।
‘उत्तर प्रदेश सरकारले मालबाहक ट्रकलाई क्षमताभन्दा बढी सामान बोक्न नदिने नीति लिएको छ,’ उनले भने, ‘यसले कच्चा पदार्थको आयात प्रतिकिलो १० रुपैयाँसम्म महँगो भएको छ । यसको असरले साबुनको मूल्य प्रतिकिलो ५ देखि ७ रुपैयाँसम्म बढेको छ ।’
उत्तर प्रदेशमा भारतीय जनता पार्टीको सरकार बनेपछि स्वीकृति नलिई सञ्चालन भएका वधशालाहरू बन्द गराइएका छन् । यत्रतत्र खुलेका वधशालाबाट उपलब्ध बोसोले साबुन बनाउन प्रयोग हुने तेल तयार हुन्थ्यो । वधशालामा नियन्त्रणपछि तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढेको छ ।
हिमगिरि साबुन उद्योगका बिक्रि विभाग प्रमुख आनन्द परावराले साबुन बनाउन प्रयोग हुने कच्चा पदार्थ पाउन नसकेर मूल्य बढाएको बताए । उनले भने, ‘मूल्य वृद्धि गर्नुको कारण भारत तथा तेस्रो देशबाट आयात हुने कच्चा पदार्थ पाउन मुस्किल भएर हो ।’ अहिले बजारमा एउटा साबुनको मूल्यमा ५ रुपैयाँसम्म मूल्य बढाइएको छ । कसैले भने साबुनको तौल कम गरेर पुरानै मूल्यमा बेचिरहेको खुद्रा व्यवसायी हिमाल महर्जनले बताए ।

प्रतिक्रिया