पश्चिमी नाकाबाट दुई युवतीको उद्धार

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुई जना युवतीको शनिबार साँझ उद्धार गरेको छ ।काठमाडौंबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा ३ ख ४१६८ नं को बसमा यात्रा गरिरहेकी सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो । ‘उद्धार गरिएका एक जना युवतीलाई लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा भारततर्फ पठाउन लागेको अवस्थामा उद्धार गरेका छौँ,’ माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने ।
अर्की उद्धार गरिएकी युवतीलाई समेत शेर्पा कपडा लगाउन भने पनि उनले नलगाएको सोधपुछमा बताएको उनले जानकारी दिए । २२ वर्षीया युवतीलाई भारतको बाटो हुँदै दुबई र अर्की युवतीलाई किर्गिस्तान पठाउने भन्दै दलालले काठमाडौंबाट बसमार्फत पठाएका थिए ।
‘धार्मिक कपडा पहिराई युवतीलाई अवैध रूपमा भारततर्फ पठाउन लागेको अवस्थामा पहिलोपटक फेला पारेका छौँ,’ संयोजक भट्टले भने ‘यसअघि विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीलाई झुक्याई भारततर्फ लग्ने गरेको पाइएको थियो ।’
दलालहरूले युवतीलाई रोजगारीको प्रलोभन दिई सीमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेको उनले बताए । युवतीलाई दलालले धार्मिक कपडा लगाएर गए सीमा क्षेत्रमा कसैले नरोक्ने भएकाले कपडा पहिराउन लगाएका थिए ।
कयौँलाई यसैगरी सीमा नाका पार गरेका छौँ तिमीहरू पनि सीमा पार हुन्छौँ, सीमा पार भएपछि दिल्ली बसपार्कमा लिन आउने बताएर पठाएको युवतीले बताएकी छन् । सीमा नाकाबाट उद्धार गरिएका दुवै युवतीलाई माइती नेपालको महेन्द्रनगरस्थित आवधिक गृहमा राखिएको छ ।

प्रतिक्रिया