कास्की । भारतका गुरुदत्त र पल्लवी रेतिवालाले पोखरामा सम्पन्न पाँचौँ दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् । गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० किमि साइक्लिङ र ५ किमि दौड ५४ मिनट ५१ सेकेन्डमा पूरा गर्दै १२ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता आफ्नै देशका दिलिप कुमारलाई पछाडि पार्दै उपाधि जिते । दोस्रो भएका दिलिपले ५५ मिटर ५९ सेकेन्डमा दुरी पूरा गरे ।
तेस्रो स्थानमा नेपालका वसन्त थारु रहे । उनले उक्त दुरी ५६ मिनट १२ सेकेन्डमा पूरा गरे । महिलामा १२औँ सागकी स्वर्णधारी पल्लवीले १ घन्टा १ मिनट ३ सेकेन्ड समयका साथ उपाधिमाथि कब्जा दक्षिण एसियामा आफ्नो दबदबा कायम राखिन् । दोस्रो स्थानमा नेपालकी सोनी गुरुङ र १२औँ सागकी कास्य पदक विजेता रोजा केसी तेस्रो स्थानमा रहिन् । सोनीले उक्त दुरी १ घन्टा ६ मिनेट २ सेकेन्ड र रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डमा पूरा गरिन् ।
यस्तै छैटौँ राष्ट्रिय ट्राइयाथलन प्रतियोगिताको पुरुषतर्फ नेपाल आर्मी शीर्ष स्थानमा रहे । आर्मीका वसन्त थारुले ५६ मिनट १२ सेकेन्डमा साथ स्वर्ण पदक प्राप्त गरे । रजत जितेका हिमाल टमाटाले ५८ मिनट १ सेकेन्ड र कांस्य जितेका रुद्र कटुवालले ५८ मिनट ४८ सेकेन्डमा पूरा गरे । सोही विधाको महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण जित्न सफल भइन् । उनले १ घन्टा ६ मिनट २ सेकेन्डमा दुरी पूरा गरिन् । रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदकमै सीमित भइन् । कांस्य जितेकी आर्मीकी यमकुमारी भुजेलले १ घन्टा १८ मिनट ५९ सेकेन्डमा दुरी पूरा गरिन् ।
माछापुच्छ«ेको काखमा रहेको पर्यटकीय स्थल फेवातालमा भएको च्याम्पियनसिपको दुवाथलनतर्फ नेपाली सेनाका मानबहादुर थापाले ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड १ घन्टा १ मिनट र ३९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पाए । एपिएफका किरणकुमार मल्लले १ घन्टा ३ मिनट र ४५ सेकेन्डमा साथ रजत र आर्मीकै अच्युत पराजुलीले १ घन्टा ३ मिनट र ५१ सेकेन्डका साथ कांस्य जिते । महिलातर्फ आर्मीकी मञ्जुकुमारी खड्काले उक्त दुरी १ घन्टा १७ मिनट ५० सेकेन्डका साथ स्वर्ण र पुष्पाकुमारी भण्डारीले १ घन्टा १८ मिनट २० सेकेन्डका साथ रजत पदकमै सीमित भइन् । जुनियर पुरुषतर्फ काठमाडांैका नितेश मानन्धरले १ घन्टा १ मिनट र ४१ सेकेन्डका साथ स्वर्ण, देवेश मानन्धरले १ घन्टा २ मिनट ४३ सेकेन्डका साथ रजत पदक प्राप्त गरे । महिलातर्फ रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डका साथ स्वर्ण जित्न सफल भइन् ।
यसअघि च्याम्पियनसिपको युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री श्रीपालीले यो खेल साहसिक र पर्यटकीय खेलकुद भएको भन्दै पोखरा पर्यटकीय क्षेत्र भएकाले यस पोखरालाई पर्यटकीय साहसिक खेलकुदको क्षेत्र बनाउन सरकारको तर्फबाट आफू लागि पर्ने बताए । उनले पोखरालाई दक्षिण एसियाली ट्राइयाथनल ट्रेनिङ सेन्टर बनाउन पहल गर्नेसमेत बताए । विजयी खेलाडीलाई लेफ्टिनेन्ट कर्णेल उज्वल थापा, बंगलादेश ट्राइयाथलन संघका महासचिव मि महमुद र संघका उपाध्यक्ष दीपक कोइरालालगायतले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया