नेपालमा बैंकको शाखा खोल्न चिनियाँ सक्रिय

china & nepal
काठमाडौं । नेपालमा बैंक खोल्न चीनका व्यवसायीहरूले चासो राखेका छन् । नेपाल राष्ट्र बैंकका अधिकारीहरूलाई भेटेर उनीहरूले बैंक खोल्ने प्रावधानका बारेमा बुझेका हुन् ।राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले चिनियाँ बैंक नेपाल आउन खोजेको जानकारी दिँदै भने, ‘उनीहरूले विभिन्न चरणमा छलफल गरिरहेका छन् ।’ राष्ट्र बैंकको ६२औँ वार्षिकोत्सव कार्यक्रममा संवोधन गर्दै शिवाकोटीले नेपालमा कारोबार र लगानी बढ्न थालेपछि चिनियाँ व्यवसायीले बैंक खोल्न छलफल गर्न थालेको बताएका हुन् । चिनियाँ प्रतिनिधिले सरकार, राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकका प्रमुखसँग परामर्श थालेका हुन् । चिनियाँहरूले नेपालमा विकास आयोजना सञ्चालन गरिरहेकाले त्यसको कारोबार आफ्नै बैंकबाट होस् भन्ने चाहेका छन् । केही वर्षयता नेपालमा चिनियाँ लगानीका ठूला आयोजना र वैदेशिक व्यापार बढिरहेको छ । आफ्नो व्यापार र लगानीलाई सहज बनाउन उनीहरूले आफ्नै लगानीमा बैंक खोल्न चासो दिएका हुन् । अहिले चिनियाँ बैंकहरूले नेपालसँगको कारोबार नेपाली बैंकमार्फत गरिरहेका छन् ।
बैंक खोल्नेबारे औपचारिक छलफल गर्न चिनियाँ केन्द्रीय बैंकका वरिष्ठ अधिकारी नेपालमा आउन लागेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । पिपुल्स बैंक अफ चाइनाबाट चिनियाँ टोली नेपाल आउन लागेको हो ।
एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल राष्ट्र बैंक र त्यहाँको केन्द्रीय बैंकबीच सुपरिवेक्षकीय सूचना आदानप्रदान गर्ने सम्झौता भएसँगै बैंक खोल्ने बाटो खुलेको हो । नेपालमा चिनियाँ लगानीमा सिन्वा हाइड्रो, माथिल्लो त्रिशुली–३ ए, राजधानीको बाहिरी चत्रपथ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगालगायत दर्जनभन्दा बढी आयोजना सञ्चालनमा छन् । यसबाहेक चिनियाँले नेपालमा होटल तथा रेस्टुरेन्ट, वस्तु व्यापार तथा मासु प्रशोधन उद्योग सञ्चालन गरिरहेका छन् ।
यसअघिका गभर्नर डा.युवराज खतिवडाले सिन्हावासँग कुराकानी गर्दै एक्जिम बैंकले नेपालमा सेवा सञ्चालनका लागि चासो देखाएको बताएका थिए । एक्जिम बैंकको प्रतिनिधिले नेपालमा लगानी गर्न अनौपचारिक प्रस्ताव गरेको जानकारी खतिवडाले दिएका थिए । बैंकको लगानी नेपाल भित्र्याउन कूटनीतिक तहमा दुई देशबीच छलफल चलिरहेको बताएका थिए । तर, त्यसले ठोस रूप लिन सकेको थिएन ।
अघिल्लोपटक अर्थसचिव हुँदा शान्तराज सुवेदीले चिनियाँ अधिकारीलाई नेपालमा बैंक खोल्न आग्रह गरेका थिए । सचिवको आग्रहपछि चिनियाँ प्रतिनिधिले नेपालका सरोकारवाला निकायसँग छलफल थालेका थिए । व्यापारिक कारोबारमा समस्या भएको भन्दै नेपालले चिनियाँ बैंकको शाखा खोल्न नेपाल–चीन तिब्बत सहसचिवस्तरीय व्यापार सहजीकरण समिति बैठकमा पनि कुरा उठाएको थियो । चार वर्षअघिको बैठकमा पनि चिनियाँहरूले शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए ।
अहिले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले डेभलपमेन्ट बैंकमार्फत विकास निर्माणमा सहभागी हुनका लागि बैंक खोल्ने प्रक्रियाका बारेमा बुझ्न सुरु गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले ठूलो पुँजी लिएर नेपालको विकास निर्माणमा सहयोग गर्ने विदेशी बैंकलाई सञ्चालन अनुमति दिने नीति लिएको छ । नेपालमा बैंक खोल्ने नीति स्थगित गरिए पनि ठूलो पुँजीको विदेशी बैंकलाई भने विशेष प्राथमिकतामा राखेर अनुमति दिइने मौद्रिक नीतिमा नै उल्लेख छ । राष्ट्र बैंकका अधिकारीहरूले अनौपचारिक रूपमा १५ अर्बभन्दा बढी पुँजी लिएर आउनेलाई स्वीकृति दिन सकिने बताउँदै आएका छन् ।
चिनियाँ बैंकहरूले नेपाली बैंकसँग संयुक्त लगानीमा चासो देखाएका छन् । बैंकिङमा चिनियाँ एकदमै कमजोर हुने तथा चिनियाँ बैंकको खराब कर्जा नै ७० प्रतिशतमाथि हुन्छ । त्यहीकारण नेपाली बैंकहरू चिनियाँसँग जान इच्छुक देखिएका छैनन् । चिनियाँ बैंकहरूको औसत खराब कर्जा दर ६८ प्रतिशत छ । नेपालमा चीन सरकारले दिने प्रत्यक्ष वैदेशिक सहायताको हिस्सा सानो भए पनि ऋण लगानी र व्यापारको हिस्सा ठूलो छ ।

प्रतिक्रिया