सरकारले नै चुनाव भाँड्न खोज्यो ः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जे–जे गर्दा चुनाव भाँड्न सकिन्छ सत्तापक्षले अहिले त्यही गरी चुनाव नगर्ने बाहना खोजिरहेको बताएका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित चुनावप्रचार अभियानको औपचारिक रूपमा उद्घाटन गर्दै ओलीले चुनाव भाँड्ने तारतम्य गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले ‘आकाश खसे मात्रै’ चुनाव रोकिने भाषण गरेको उल्लेख गरे । ‘एक दिन प्रधानमन्त्रीले आकाश खसे मात्रै चुनाव रोकिन्छ भन्ने भाषण गरेको सुन्दा नै भित्रभित्रै चुनाव भाँड्न केही गरेछन् भन्ने आशंका लागेको थियो’, ओलीले भने, ‘चुनावका सबै तयारी पूरा भएर सिंगै देश निर्वाचनमा होमिएपछि केही दललाई बालुवाटार बोलाएर दुई चरणमा चुनाव भने । त्यसैबीचमा ११ जिल्लामा स्थानीय तह थप्न परिपत्र गरे, दोस्रो चरणमा चुनाव गर्ने ठाउँमा त मतदातासमेत थप्ने भनिरहेका छन् । भित्र यस्तो तयारी गरेर बाहिर आकाश खसे मात्रै चुनाव रोकिने बताएका रहेछन् ।’
गतसाता प्रधानमन्त्री पुष्पकमल दाहालले झापामा आयोजित कार्यक्रममा आकाश खसे र धर्ती फाटे मात्रै ३१ वैशाखको चुनाव रोकिने बताएका थिए । त्यसलगत्तै दाहालले मधेसी मोर्चा चुनावमा जान सहमत भएको भन्दै चुनाव दुई चरणमा गर्न सिफारिस गरेका थिए ।
‘देशभरका मतदाता मतदानको दिन पर्खेर बसेको अवस्थामा के निहुँमा त्यसलाई भाँडौँ भन्ने बाहना खोजिरहेका थिए, अनि बालुवाटारमा बैठक डाके लौ सहमति भयो अब दुई चरणमा चुनाव भन्ने हल्ला चलाएर चुनाव बिथोल्ने बाटो खोजे’, ओलीले भने, ‘चुनाव घोषणा गरेपछि गर्नै नहुने विचित्रका काम सरकारले गर्ने र त्यसको विरोध भयो भने अरूलाई चुनाव भाँडेको दोष लगाउन मन्त्रिपरिषद्ले प्रदेशको सीमांकन गर्ने र स्थानीय तह थप्ने असंवैधानिक काम गर्न थाले ।’
चुनाव घोषणा गरिसकेपछि आर्थिक विनियोजनका सामान्य काम पनि गर्न नमिल्ने बेलामा चुनावी घोषणापत्रअनुसार देशको बजेटै ल्याउने, खरदार पनि सरुवा गर्न नमिल्ने विषयमा प्रधानमन्त्री र मन्त्रीहरू नै परिवर्तन गर्नेसम्मका विचित्रका काम तय भएको ओलीको भनाइ थियो । निर्वाचन आचार संहिताविपरीत क्रियाकलापमा निर्वाचन आयोगलाई समेत समर्थनमा बोल्न लगाइएको ओलीको भनाइ थियो । ओलीले ५ दलको बैठकमा ३१ जेठमा मुस्लिम समुदायको रमजान पर्व पर्ने भएकाले उक्त दिन चुनाव हुन नसक्ने कुरा उठाउँदा पनि कांग्रेस सभापति शेरबहादुरले एमालेले चुनाव हुन नदिने आरोप लगाएको जानकारी दिए । ‘यिनीहरू जे हुँदैन त्यो गर्छु भन्छन्, ए यस्तो हुँदैन भन्यो भने चुनाव हुन नदिने भनेर अर्काको टाउकोमा दोष थोपर्ने कोसिस गर्छन्’, ओलीले भने ।
उनले अहिलेको सरकारलाई धाँधलीबाज सरकारको उपमा दिए । ‘सरकारले सर्वाेच्चमा एउटा कार्यसम्पादन मूल्यांकन फाइल पठायो, सर्वाेच्चले सबैभन्दा अगाडि रहेकोलाई नियुक्त गर्न भनेपछि अर्काे किर्ते फाइल बनाएर नियुक्त ग¥यो’, ओलीले भने, ‘आफूले गरेको किर्तेमा डिआइजीलाई फसाउने प्रयास गरिरहेको छ । सरकारले तयार गरेको फाइल किर्ते हुँदा सरकारले किर्ते गरेको प्रमाणित हुने होइन ?’
कार्यक्रममा गायक बद्री पंगेनी, कलाकार राजा राजेन्द्र र महेश खड्कालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया