कच्चापदार्थ अभावमा धरासायी बन्दै उद्योग

narendra raj sakya
भोजपुर । आर्थिक दृष्टिकोणले धातु उद्योगले फाइदा पु¥याएको भए पनि पछिल्लो समय धातु उद्योग सञ्चालनमा संकट सुरु भएको छ । भोजपुर टक्सारको पहिचानको रूपमा रहेको धातु व्यवसाय कच्चापदार्थको अभावमा बन्द हुन थालेका छन् । व्यावसायिक रूपमा दर्ता गरी सञ्चालनमा आएका उद्योगहरूलाई आवश्यक कोइला र पत्रुको अभाव हुँदा धरासयी बनेको हो । विशेष गरी करुवा, अम्खोरा, गाग्री, खड्कौलो, थाल, डबका, डाडु, पन्यू घन्टी, बत्ती, कचौरा, अन्ति, वाइनकपलगायत सामग्री बनाउने गरिएको छ । कच्चा पदार्थ मैन, सालधूप, भुस, गोवर कोइलाको आवश्यक पर्दछ ।
विशेष गरेर कोइलाको अभावले पेसा नै संकटमा परेको बुद्धधातु उद्योगका सञ्चालक बुद्धराज शाक्यले बताए । शाक्यका अनुसार उनको यो पुख्र्याैली पेसा भएको र कच्चा पदार्थको संकट नहँुदा मासिक ७० हजारदेखि एक लाखसम्मको सामग्री निर्माण गरी निर्यात गर्ने गरेको बताए । यहाँका तयारी सामग्री आकर्षक बुट्टा र गुणस्तरीय हुने भएकाले पनि व्यापारीले भन्दा घरमा सजावटको लागि लैजाने गरेका छन् ।
विशेषतः भ्रमणमा आउने पर्यटक, कर्मचारीहरूले उपहारका रूपमा निर्यात हुने शाक्यको अनुभव रहेको छ । भने अनुसारको सामग्री तयार गरी ०६९ सालमा उनलाई नेपाल ललितकला केन्द्र प्रज्ञा प्रतिष्ठानबाट नगद २० हजार नगदसहित प्रमाणपत्रबाट सम्मानित भएको स्मरण गर्दै उनले भने, ‘गर्नु जति पहिले नै गरिएछ ।’ सम्मानित पनि भएँ तर अहिले त्यस्तो छैन मन भएर पनि कच्चा पदार्थको अभावले आफ्नो सीपलाई प्रयोग गर्न नसक्दा दुःख लागेको बताए ।
जिल्लाको आन्तरिक मागलाईसमेत पूरा गर्न नसकेको कच्चापदार्थको अभाव नभए यो पेसाबाट सजिलैसँग आत्मनिर्भर हँुदै राम्रो आम्दानीको स्रोत हुने अर्का उद्योगी नरेन्द्रराज शाक्यले बताए । प्रतिकिलो २५ देखि ३२ सय सम्ममा बिक्री हुने गरेको छ । उनका अनुसार स्वदेश तथा विदेशबाट आउने मागलाई पूरा गर्ने दक्ष जनशक्ति भए पनि कच्चापदार्थको अभावले ग्राहकहरूको माग पूरा गर्न नसकेको बताए । झोसा पत्रुबाट निर्माण गरिने वर्तन तयार हुनलाई १५ दिनदेखि दुई महिनासम्म समय लाग्छ ।
४० घरपरिवारले ०४० सालमा धातुसम्बन्धी काम गर्थे । तामा, पित्तल १८ घर, थात, डबका पाँच घर, करुवा अम्खोरा १२ घर र डाडुपन्यूसम्बन्धी पाँच घरले धातुका सामग्री तयार गर्ने गरेको घरेलु तथा साना उद्योग विकास समितिका हस्तकला, धातु उद्योग विज्ञ विमल शाक्यले बताए । ५०÷६० साल ताका पित्तलका उद्योग कच्चापदार्थ तथा बजार खस्किएका कारण बन्द भइसकेको र बाँकी उद्योगहरूका लागि कच्चापदार्थ कै समस्या रहेको अजिमा धातु उद्योगसमेत सञ्चालन गरिरहेका शाक्यले बताए ।
नेवारी समुदायका ताम्राकारले तामा र पित्तल, शाक्य समुदायले काँस र उदास समुदायले तामाका सामग्री निर्माण गर्दछन् । कच्चापदार्थको अभाव हुन थालेपछि कतिले त वैदेशिक रोजगारको बाटो रोजे । धेरै उद्योग सञ्चालन गरिरहेका घर परिवारै धरान, काठमाडौंतिर बसाइँ सरेको स्थानीय शुभद्रा शाक्यले बताए ।
नेवारी समुदायले पुख्र्यौली पेसाका रूपमा सञ्चालन गरिरहेका धातु उद्योग बन्द हुने अवस्थामा पुगेकोले सरोकारवालाले चासो दिनुपर्ने उद्योगीहरूको माग रहेको छ । भोजपुरमा उत्पादित काँसका सामानहरूको माग छिमेकी देश भारत, चिन, अमेरिकालगायत बाहिरी मुलुकहरूबाट पनि माग हुने गरेको छ ।
भोजपुरलाई चिनाउने भोजपुरे खुकुरी पछिको अर्काे स्थानीय उत्पादन काँसको करुवा भएको र पछिल्लो समय यो पनि संकटमा पर्दै गएकाले यसको जगेर्नाको लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने जानकारहरू बताउँछन् । भोजपुरमा धातुसम्बन्धी बुद्ध धातु उद्योग, सूर्यधातु उद्योग, नारायण धातु उद्योग गरी चार वटा उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । दर्ता नभएका ६ वटा उद्योग रहेको घरेलु तथा साना उद्योग विकास समिति कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया