मोदीसँग राजपाका नेताको भिडियो कन्फरेन्स !

13-2
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलहरूबीचमा सहमति बनाई स्थानीय चुनावको माहोल बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई मात्र दिएनन् उनले चुनावका लागि हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।प्रधानमन्त्री मोदीले समकक्षी दाहालसँग कुरा गरिसकेपछि मधेसी मोर्चासँग पनि कुरा गर्न चाहेका थिए । उनले मधेसी मोर्चाका नेताहरूले एउटै पार्टी बनाएर चुनावका लागि तयार भएको विषयमा धन्यवाद दिन ती नेताहरूसँग कुरा गर्ने इच्छासमेत व्यक्त गरेका थिए ।
तर, ती पार्टीका अध्यक्ष मण्डलमा रहेका महन्थ ठाकुर, महेन्द्रराय यादव, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव र शरतसिह भण्डारीसँग एकैपटक कुरा गर्न नसकिने भएकाले दूतावासमार्फत ती नेताहरूसँग भिडियो कन्फरेन्सको माध्यमबाट कुरा गर्ने र त्यसको व्यवस्था गर्न नेपालस्थित भारतीय दूतावासलाई प्रधानमन्त्री मोदीको नीजि सचिवालयले भनेको थियो । त्यसका लागि दूतावासले राजपाका नेताहरूलाई मंगलबार साँझ दूतावासमा पनि बोलाएका थिए । भिडियो कन्फरेन्स गर्ने व्यवस्था पनि मिलाएको थियो तर प्रविधिले साथ नदिएका कारण भिडियो कन्फरेन्स हुन नसकेको राजपाका एक नेताले बताए ।
राजपाका एक नेताले भने, ‘दूतावास जानु ठूलो कुरा होइन, मधेसी नेताहरू दूतावास गयो भन्नेहरू अरू नेता गएको किन देख्दैनन् अच्चम परेको छु, मधेसी नेताहरू त बोलाएको बखत मात्र जान्छन् तर अरू नेताहरू नबोलाए पनि दिनदिनै गइरहेका हुन्छन्, त्यस्तोमा यहाँको मिडियाको नजर किन पर्दैन ?’
उनले भिडियो कन्फरेन्स भएको ठाडै अस्वीकार गर्दै भने, ‘हामी विभिन्न दल एकीकृत भएकोमा बधाई तथा शुभकामनाका लागि बोलाइएको थियो ।’ मंगलबार राजपाका नेतासँगको भेटमा भारतीय राजदूत मञ्जिभ सिंह पुरीले दलहरूबीचमा एकता गरेर धेरै राम्रो गरेको भन्दै अब चुनावमा भाग लिएर लोकतन्त्रलाई प्रवद्र्धन गर्ने काममा सहयोग पु¥याउन पनि मधेसी मोर्चाका नेताहरूलाई सुझाव दिएका थिए ।
भारतीय दूतावासकी प्रवक्ता रूवी जसप्रित शर्माले यस विषयमा कुनै प्रतिक्रिया दिन मानिनन् । उनले भनिन्, ‘यो विषयमा म केही प्रतिक्रिया दिन्न चाहन्नँ, केही नयाँ भएपछि जानकारी गराउँछु ।’ सरकारले २९ चैतमा पुरानो चार बुँदे विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएपछि मधेसी मोर्चाका नेताहरूले त्यसको विरोध गरेका थिए । त्यस्तो विरोध गर्नेबित्तिकै दूतावासले ३० चैतमा उनीहरूलाई बोलाएर राजदूत पुरीले त्यसको विरोध नगरी सहमति गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।
सरकारले ल्याएको विधेयक सकारात्मक छ, यसको धेरै विरोध गर्नहुन्न भन्दै उनले मोर्चाका नेताहरूलाई चुनावमा जानका लागि आग्रह गरेका थिए । त्यही दिन उनीहरूसँग पार्टी एकीकरणको विषयमा जिज्ञासा पनि राखेका थिए । हामी चाँडै गर्दै छौ, यसका लागि गृहकार्यहरू सुरु भएको जानकारी उनीहरूले गराएका थिए ।
त्यसको आठ दिनपछि अर्थात् ७ वैशाखमा मधेसी मोर्चाआबद्ध ६ पार्टीबीच एकीकरण पनि भयो र चुनावमा जाने सहमति पनि भयो । त्यही प्रक्रियाबमोजिम मंगलबार नेताहरूलाई बोलाएर उनले चुनावमा जान आग्रह गरेको स्रोतहरूले बताएका छन् ।

प्रतिक्रिया