मोबाइल एप्सको प्रभावबारे तथ्यांक संकलन

काभ्रे । किसानलाई उपलव्ध गराइएको मोबाइलसहित कृषिसम्बन्धी एप्सको उपयोगिताबारे तथ्यांक संकलन गरिने भएको छ । काभ्रेका किसानमा कृषि र पशुपालनप्रतिको लगाव देखेर तीन वर्षदेखिको प्रयासले सकारात्मक रूप लिन थालेकाले सो तथ्यांक लिन लागिएको विश्व बैंकका पुनम पिल्लाईले बताए । ‘यहाँको सफलतापछि हामी अन्य क्षेत्रमा पनि मोबाइल फोन उपलब्ध गराउनेछौँ,’ पिल्लाईले भने, ‘मोबाइल एप्सको प्रयोगले काभ्रे जिल्लाको कृषिको विकासमा थप टेवा दिने अपेक्षा राखेका छौँ ।’ विश्व बैंकले मोबाइल एप्समार्फत किसानलाई कृषिसम्बन्धी विभिन्न सहयोग गर्र्दै आएको उनले जानकारी गराए ।
कार्यक्रममा अठ्ठाइसकिलो गाईपालन समूहका संयोजक राममणि अधिकारीले मोबाइलमार्फत आवश्यक जानकारी लिन र मौसमको फेरबदलबाट बालीनालीलाई पर्ने असर न्यूनीकरण गर्नेलगायत जानकारी पाइने बताए । यो प्रविधि नयाँ भएकाले यसको प्रयोग गर्न अझै प्रशिक्षणकै क्रममा आफूहरू रहेको उनले जानकारी दिए । संयोजक अधिकारीले उक्त प्रविधिमार्फत र पशु र तरकारीमा लाग्ने किराबाट बच्न कस्ता संयन्त्र अपनाउन सकिन्छ भन्ने जानकारी मोबाइलबाटै पाइने भएकाले सम्बद्ध किसान उत्साहित भएको उल्लेख गरेका छन् ।
धेरै समयपछिको प्रयासबाट मोबाइलको एप्स प्रयोग सम्भव भएको छ भन्दै मोबाइल फोन वितरणका संयोजक जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक श्यामनारायण महतोले प्रभावकारी रूपमा यस एप्सको प्रयोग गर्न र पाएका जानकारी अरूलाई पनि उपलब्ध गराउन आग्रह गरे ।
जिल्ला पशुसेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा विश्व बैंकले केही समयअघि ४३ वटा समूहमा रहेका विकसानलाई मोबाइल फोन वितरण गरेको थियो ।

प्रतिक्रिया