प्रदीपलाई अन्तिम बिदाई

sradnjali
काठमाडौं । भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एन्ड रिसर्च सेन्टरमा शुक्रबार साँझ ५ बजे निधन भएका कलाकार प्रदीप सिंहलाई कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा कलाकर्मीहरुले श्रद्धाञ्जली दिएका छन् । दिनको ३ः३० बजे एयरइन्डिया बिमानबाट उनको पार्थिव शरीरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपु¥याइएको थियो । विमानस्थलबाट पार्थिव शरीरलाई सोझै प्रज्ञाभवनमा श्रद्धाञ्जलीका लागि पु¥याएको थियो । करिब एक घन्टा प्रज्ञाभवनमा राखिएको पार्थिव शरीरलाई सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की, कलाकार संघका अध्यक्ष रामकेसर बोगटी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चलचित्रकर्मी नीर शाह, कलाकार कृष्ण मल्ल, बसुन्धरा भुसाल, भुवन चन्दलगायत तीन दर्जन बढी कलाकर्मीले श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीका क्रममा उपस्थित अधिकांश व्यक्तिले उनको कलायात्रा, स्वभाव, योगदानलगायत विषयमा चर्चा गरेका थिए ।
पार्थिव शरीरमा कलाकार संघका अध्यक्ष रामकेसर बोगटी र वरिष्ठ कलाकार नीर शाहले कलाकार संघको झन्डासमेत ओडाएका थिए । प्रज्ञाभवनपछि बौद्ध परिक्रमाका लागि लगिएको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले बताएका छन् ।
०४१ सालमा निर्मित ‘२५ वसन्त’बाट अभिनयमा डेब्यु गरेका उनले ‘चिनो’, ‘दुई थोपा आँशु’, ‘देउता’, ‘रहर’, ‘मितज्यू’, ‘कोसेली’ र ‘बलिदान’लगायत करिब सय हाराहारीका चलचित्रमा अभिनय गरेका छन् । ‘मितज्यू’लगायत केही चलचित्रका निर्मातासमेत रहेका उनी छोटा तथा भिडियो चलचित्र निर्माणमा समेत देखिँदै आएका थिए । केही समय बौद्धको पृथ्वी चलचित्र भवनको समेत सञ्चालक बनेका उनी चलचित्र कलाकार संघको कार्यसमितिमा दुई–दुईपटक निर्वाचित भएका थिए ।
कलाकारितासँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय उनी मृगौलाको रोगबाट पीडित थिए । केही पहिले मृगौला प्रत्यारोपण गरेका उनलाई पछिल्लो समय चालिस दिनअघि उपचारका लागि कलकत्ता पु¥याइएको थियो । ०१५ असार १४ गते काठमाडौंको बौद्धमा जन्मिएमा प्रदीपको एक छोरा, दुई छोरी र श्रीमती छन् ।
श्रद्धाञ्जलीपछि मन्त्री कार्कीले देशकै गहना बनेका कलाकारमध्ये एक प्रदीपलाई गुमाउनु पर्दा धेरै दुःख महसुस भएको बताए । कलाकार नीर शाहले मिलनसार र सरल किसिमको व्यक्ति भएकाले पनि प्रदिपलाई सधैँ ‘मिस’ गरिरहने बताए । कलाकार संघका अध्यक्ष रामकेसर बोगटीले प्रदीपको निधनले कलाकार संघलाई अपूरणीय क्षति पुगेको बताए ।

प्रतिक्रिया